दोरम्बा शैलुङ गाउँपालिकामा आलु धेरै फलेपछि किसान उत्साहित (फोटोफिचर)



८ साउन, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाभित्र गत बर्ष भन्दा आलु उत्पादन राम्रो भएको छ । यस बर्ष असिनाको कारण आलुमा क्षति नभएको कारण आलु उत्पादन गत बर्ष भन्दा राम्रो भएको हो । गाउँपालिकाको शैलुङ आसपासको क्षेत्रमा आलु उत्पादन हुँदै आएको छ ।

आलु उत्पादनलाई बृद्धि गर्नको लागि बागमती प्रदेश सरकारले आलु विउ उत्पादन केन्द्र समेत गाउँपालिकाभित्र स्थापना गरेको छ । अहिले किसानले बारीमै एक धार्नी आलुको एक सय रुपैयाँ पाउने गरेका छन् । शैलुङ कृषि पर्यटनका अभिन्यनता दावा साङबु शेर्पाले विगतको भन्दा आलु उत्पादन निकै राम्रो भएको रामेछाप न्युजलाई बताए । दोरम्बा शैलुङको आलुको बिउको लागि पनि ठूलो माग हुँदै आएको छ । यस क्षेत्रका किसानले असारदेखि मंसिरसम्म आलु विक्री गर्ने गर्छन ।

शेर्पाका अनुसार अहिले दैनिक १० ट्रकसम्म आलु निर्यात हुने गरेको छ । विगतमा मुडे हुँदै काठमाडौं लैजानु पर्ने बाँध्यता हटेको छ । अहिले शैलुङ्ग दोरम्बा गाल्वा नेपालथोक हुँदै काठमाडौं लैजान गरिएको छ । यस क्षेत्रमा उत्पादित आलु स्वादिलो हुने भएकाले बजारमा पनि माग पनि बढदो छ । राजधानी काठमाडौंको कालीमाटी, बौद्ध, भक्तपुरको तरकारी बजार लगायतको क्षेत्रमा दोरम्बा गाउँपालिकामा उत्पादित आलु पाइने गरेको छ ।

यस क्षेत्रमा रोजिटा, कुफ्रेज्योति, डेजिरे एमएस ट्वान्टी फोर जातको आलु उत्पादन हुँदै आएको छ । विगतको तुलनामा यस बर्ष मौसमले साथ दिएकाले आलु उत्पादन बढदा किसान दंग भएका छन् । आलु उत्पादन हुने क्षेत्रका किसानले प्रतिघर बार्षिक न्युनतम ८ देखि ३० लाखसम्मको आलु विक्रि गरेका छन् ।

शैलुङ दोरम्बा गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादित आलुलाई बेमौसममा विक्रिवितरण गर्नको लागि आलु कोल्ड स्टोर समेत निर्माण गर्ने योजना अगाडि सारेको छ ।

गाउँपालिकाको गौश्वरामा निर्माण गरिएको रष्ट्रिक स्टोर सञ्चालनमा ल्याउने तयारी भएको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए । उनका अनुसार दोरम्बा पनि कोल स्टोर बनाउने योजना अगाडि बढाइएको छ ।
दोरम्बा शैलुङ गाउँपालिकामा बार्षिक ८० सय मेट्रिटनसम्म आलु उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्