जिल्ला अस्पताल रामेछापमा यही महिनाबाट भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउने



१० साउन, रामेछाप ।
जिल्ला अस्पताल रामेछापमा पहिलो पटक भेन्टिलेटर सञ्चालनमा आउने भएको छ । अस्पतालमा दुई भेन्टिलेर र पाँच वटा आईसीयू वेड सञ्चालनमा आउने भएको हो । बागमती प्रदेश सरकारले रामेछाप अस्पताललाई स्तरउन्नती गर्दै विशषेज्ञ डाक्टर सहित आइसीयू र भेन्टिलेर सञ्चालनमा ल्याउने भएको छ ।

जिल्लाभित्र आइसीयू र भेन्टिलेटर नहुँदा गम्भीर बिरामीलाई थप उपचारको लागि अन्य जिल्लामा लैजानु पर्ने बाँध्यता रहदै आएको छ । अस्पतालमा भेन्टिलेटर र आइसीयू नहुँदा यसअघि कोरानो संक्रमितको समेत निधन भएको थियो । संघीय सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि बागमती प्रदेश सरकार मार्फत भेन्टिलेर र आयसीयू खरिदको लागि तीन करोड रुपैयाँ विनियोजन गरेको थियो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले अब गम्भीर बिरामीको पनि जिल्ला अस्पतालमै उपचार हुने बताए । उनले भने,‘भेन्टिलेर र आइसीयू नहुँदा गम्भीर बिरामीलाई काठमाडौं लैजानु पर्ने बाँध्यता थियो, अब जिल्लाभित्रै उपचार हुनेछ ।’
बागमती प्रदेश सरकारले प्रदेशभित्रका जिल्ला अस्पतालको स्तरउन्नती गर्दै आइसीयू र भेन्टिलेर सञ्चालनको लागि विशषेज्ञ डाक्टरको व्यवस्था गर्ने नीति लिएको छ ।

जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले यही महिनाको अन्तिमबाट आइसीयू र भेन्टिलेर सञ्चालन गर्ने गरी काम अगाडि बढिरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार आइसीयू र भेन्टिलेर खरिदको लागि सम्झौता गरेर आउने प्रक्रियामा रहेको छ । पाख्रिनले अस्पतालमा आइसीयू र भेन्टिलेर सञ्चालनको लागि विशषेज्ञ डाक्टर भर्ना गर्ने काम पनि अन्तिम चरणमा पुगेको बताए । ‘अबको दस दिनभित्र आइसीयू र भेन्टिलेर अस्पतालमा आइपुग्छ, विशेषज्ञ डाक्टर आउने पक्कापक्की भइसकेको छ’, उनले भने,‘अब जिल्लाभित्रै गम्भीर बिरामीको पनि उपचार हुन्छ ।’

जिल्लामा यसअघि नेपाली कांग्रेसका नेता एवं निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ कान्छारामले तामाकोसी अस्पताललाई निशुल्क रुपमा प्रदान गरेको आइसीयू वेड भने विशषेज्ञ डाक्टरको अभावमा पूर्ण रुपमा सञ्चालनमा आउन नसकेकाे तामाकाेसी अस्पतालले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्