कुलमान घिसिङ बाहिरिएसँगै नेपाल विद्युत प्राधिकरणको नाफा आधा घटयो



११ साउन, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएसँगै प्राधिकरणको नाफा घटेको छ । नौ अर्ब घाटामा रहेको प्राधिकरणलाई घिसिङको चार बर्षे कार्यकालमा ११ अर्ब रुपैयाँ नाफामा लैजान सफल भएका थिए । तर प्राधिकरणबाट उनी बाहिरिएसँगै प्राधिकरणको नाफा गत आर्थिक बर्षको भन्दा आधाले घटेको छ । लगातार घाटामा जाने नेपाल विद्युत् प्राधिकरणमा घिसिङले कार्यभार सम्हालेसँगै घाटा घट्दै आर्थिक वर्ष २०७६÷७७ सम्म आइपुग्दा अधिकतम ११ अर्ब रुपैयाँसम्म नाफामा पुगेको थियो ।

२९ भदौ २०७३ मा कार्यकारी निर्देशकको नियुक्ति पाएका कुलमानको कार्यकालमा नै १६ घण्टा लामो लोडसेडिङ अन्त्य र ३४ अर्बको सञ्चित घाटाबाट ५ अर्ब नाफामा पुगेको थियो । तर, एकै आर्थिक वर्षमा नाफा घटेर ५ अर्बमा सीमित हुन पुगेको छ । नाफा घट्नुको कारण व्यवस्थापकीय खर्च बढ्नुका साथै चुहावट बढ्नु देखिएको छ ।

प्राधिकरणले ऊर्जा मन्त्री पम्फा भुसालको स्वागत कार्यक्रममा जानकारी गराइएको वित्तीय विवरणअनुसार प्राधिकरणले गत आर्थिक वर्ष २०७७÷७८ मा करिब ५ अर्ब रुपैयाँ मात्र नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६ अर्बले कम हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणका आयोजनाबाट उत्पादन घटेको र चुहावट बढेका कारण नाफामा असर परेको बताएका छन् । प्राधिकरणको विवरणअनुसार गत आर्थिक वर्षमा चुहावट बढेर १६.३२ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा १५.२७ प्रतिशत चुहावट भएकोमा गत आर्थिक वर्षमा बढेर १६.३२ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्