रामेछाप–काभ्रे जोडने चौरीखोलामा नेपालकै दोस्रो लामो झुलुङ्गे पुल बन्ने



स्नेहा सिलवाल
१३ साउन, काठमाडौं । रामेछाप–काभ्रे जिल्ला जोडने नेपालकै दोस्रो लामो झुलुङ्गे पुल निर्माण हुने भएको छ । रामेछापको सुनापति गाउँपालिका र काभ्रेको चौरी देउराली गाउँपालिकाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न चौरीखोलामा झुलुङ्गे पुल निर्माण गर्ने प्रस्ताव पारित गरेको हो । झुलुङ्गे पुल निर्माण गर्नको संघीय सरकारले यस आर्थिक बर्षको विस्तृत आयोजना प्रतिवेदन (डिपिआार) तयार गर्नको लागि २१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सुनापति गाउँपालिकाको समन्वयमा साउन २४ गतेबाट पुल निर्माण गर्न सर्भेको काम अगाडि बढाइने भएको छ । सुनापति गाउँपालिकाका सब–इन्जिनियर सानुबाबु श्रेष्ठले झोलुङ्गे पुल निर्माणको लागि काम अगाडि बढाउने तयारी भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार पुलको डिपिआर तयार गरेर निर्माणको लागि प्रदेश सरकार र संघीय सरकारमा पठाइनेछ ।

सुनापति गाउँपालिका–४ बेथानका वडाअध्यक्ष खड्ग घिसिङले चौरीखोला माथि नेपालकै दोस्रो लामो झोलुङ्ग पुल निर्माण गर्नको लागि डिपिआरको काम अगाडि बढाउने तयारी भएको रामेछाप न्युजलाई बताए । सुनापति गाउँपालिका–४ बेथानको डहु स्थिति हरिडाँडा (डोजरडाँडा) र काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका–७ कुडाँरी स्थित मानेडाँडा मुनि करिब चार सय मिटर लामो पुल निर्माणको प्रस्ताव गरिएको छ । सहासिक खेल पर्यटन, बन्जीजम्प लगायतको खेलको लागि पनि पुल निर्माण महत्वपूर्ण हुने घिसिङले बताए ।

सुनापति गाउँ पालिकाको गाउँ सभाले सुनापति गाउँपालिका–४ बेथान र चौरीदेउराली गाउँपालिका–७ मादन कुडारी जोड्ने नेपालकै दोस्रो लामो हुने उल्लेख गरिएको छ । झोलुङ्गे पुल निर्माण मार्फत साहसिक खेल पर्यटन पूर्वाधारको विकास गर्न योजना गाउँपालिकाले लिएको छ । गाउँसभाले पुल निर्माण हुने स्थलबाट जोम्सा आदर्शटोल मन्दरमैरे सैलुङ सडक र सादी डोग्मा स्वाँरा लखपति गाल्वा सडकको स्तरोन्नती गरी कालोपत्रे गर्न संघीय तथा प्रदेश सरकारसगँ आवश्यक बजेटका लागि माग गर्ने निर्णय गरेको छ ।

झोलुङ्गे पुल निर्माण स्थल हालको मध्य पहाडी लोकमार्ग आसपास हुनेछ । नेपालमा यसअघि बाग्लुङ-पर्वत जोडने कालीगण्डकी नदीमा नेपालकै सबै भन्दा लामो झोलुङ पुल निर्माण भएर सञ्चालनमा आइसकेको छ । उक्त पुलको लम्बाई ५ सय ७६ मिटर लामो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्