सर्वत्र कुलमान घिसिङको चर्चा, सरकारको प्रशंसा



१९ साउन, काठमाडौं ।
सरकारले नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ । आज बसेको मन्त्रिमरिषद्को बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले तत्काल घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन उर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाको निर्देशनसँगै औपचारिक रुपमा घिसिङको पुनः नियुक्तिको प्रक्रिया उर्जा मन्त्रालयले अगाडि बढाएको छ । सरकारले घिसिङलाई ल्याउने भएपछि सर्वत्र चर्चा सुरु भएको छ । उनलाई ल्याउने भएपछि सरकारको समेत प्रशंसा भएको छ ।

घिसिङको चार बर्षे कार्यकाल सकिएसँगै आम नागरिकले लोडसेडिङ हटाउने र घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सफल भएको कारण पुनः नियुक्ति गर्नुपर्ने दबाब दिएका थिए । तर त्यति बेला सरकारले कुलमानको म्याद नथपेपछि घिसिङ प्राधिकरणबाट विदा भएका थिए । घिसिङलाई पुनः नियुक्ति गर्न नागरिक स्तरबाट सडकमा आन्दोलन समेत भएको थियो ।

तर स्वयंम घिसिङले आफ्नो पक्षमा आन्दोलन नगर्न अपिल गरेपछि नागरिकहरुले स्वस्फूत रुपमा सुरु गरेको आन्दोलन स्थगित भएको थियो । कुलमान बाहिरिएपछि नौ अर्ब नाफामा गएको प्राधिकरणको नाफा एकै बर्षमा पाँच करोड घटेको थियो । देशभर विद्युतको सेवा चुस्त दुरुस्त हुन नसकेको भन्दै हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको चौतर्फी रुपमा आलोचना हुँदै आएको थियो । सरकारले शाक्यको राजिनामा माग्ने प्रक्रिया अगाडि बढाएको छ । उनलाई हटाएर घिसिङलाई नियुक्ति गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्