रामेछापमा आइपुग्यो पिसिआर मेसिन, अब जिल्लाभित्रै कोरोना परीक्षण हुने



२४ साउन, रामेछाप ।
रामेछाप जिल्लामा पहिलो पटक पिसिआर मेसिन स्थापना हुने भएको छ । बागमती प्रदेश सरकारको पहलमा जिल्ला अस्पताल रामेछापमा मेसिन स्थापना गर्न लागिएको हो । प्रदेश सरकारले गरेको टेन्डर बमोजिम जडानको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले आज रामेछापमा पिसिआर मेसिन ल्याएको छ ।


बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जिल्लाभित्र पिसिआर मेसिन सञ्चालनमा आएपछि कोरोना संक्रमण नियन्त्रण र रोकथाममा सहज हुने बताए । उनले प्रदेश सरकारबाट केही समयपछि जिल्लामै पहिलो पटक अक्सिजन प्लान्ट जडानको काम पनि हुने बताए । अक्सिजन प्लान्ट जडान गर्नको लागि प्रदेश सरकारले टेन्टर गरे अनुसार जडानको जिम्मेवारी पाएको कम्पनीले केही दिनभित्र प्लान्ट ल्याउने बताएको छ । प्लान्ट स्थापना गर्नको लागि जिल्ला अस्पताल रामेछापले ट्रसको भवन निर्माणको काम समेत अगाडि बढाएको छ ।

मेसिन आएसँगै जिल्लामै केही दिनभित्र पिसिआर मेसिन जडान भएर सञ्चालनमा आउने भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले पिसिआर मेसिर स्वास्थ्य कार्यालमा आइपुगेको र केही दिनमा जडान हुने रामेछाप न्युजलाई बताए । उनका अनुसार अब पिसिआर मेसिन सञ्चालनको लागि आवश्यक पर्ने जनशक्तिको लागि सूचना प्रकाशित गर्ने गृहकार्य अगाडि बढेको छ । रामेछाप जिल्लामा पिसिआर मेसिन नहुँदा स्वाब संकलन गरेर पठाएको पाँच दिनपछि रिपोर्ट आउने बाँध्यता रहेको थियो । अब जिल्लाको आठ वटै स्थानीय तहमा संकलन हुने पिसिआर परीक्षण गर्न सहज हुने भएको छ । जिल्लामा स्थापना हुन लागेको पिसिआर मेसिनबाट दैनिक एक सय भन्दा बढी स्वाबको परीक्षण गर्न सकिने बताइएको छ ।

जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले जिल्ला अस्पतालमा निकै ठूलो मेहनतपछि पिसिआर मेसिन राख्न लागिएको बताए । उनले भने, ‘जिल्लाभित्र पिसिआर मेसिन स्थापना हुन जिल्लावासीको लागि निकै ठूलो खुसीको खबर हो, धेरै पहलपछि मेसिन आएको छ, अब स्वाब संकलन हुने वितित्तिै रिपोर्ट आउछ ।’

प्रतिक्रिया दिनुहोस्