जिल्ला प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष सञ्चालनमा



३१ साउन, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । प्रहरी कार्यालयले नागरिक सहायता कक्ष र कलर कार्ड सेवा शुभारम्भ गरेकाे हाे ।  रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले आज प्रहरी कार्यालय परिसरभित्र निर्माण भएको नागरिक सहायता कक्षकाे शुभारम्भ गरेका हुन् ।  उनले नागरिकमैत्री कार्यक्रमहरुमा स्थानीय तहको सहकार्य र समन्वय भएमा समाजको विकृति तथा अपराध न्यूनीकरण भई समुन्नत समाजको निर्माणमा टेवा पुग्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यक्रम रामेछापका प्रमुख नवराज ढुंगानाले नागरिक सहायता कक्ष र कलर कार्ड सेवाले प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको लािग सहज हुने बताए । उनले अभिलेखीकरण, फरक–फरक रंग भएको सेवाग्राही सम्बन्धित शाखामा जान सजिलो हुने र सेवाग्राहीलाई सेवा लिनको लागि अन्य व्यक्तिको साहारा लिन नपर्ने बताए ।

उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष विरेन्द्र श्रेष्ठले यस्ता किसिमको कार्यक्रमले प्रहरी सेवा प्रवाहमा थप गुणस्तरीय हुने बताए । प्रहरीले नागरिक सहायता कक्ष र सेवाग्राहीको सुविधाको लागि टेलिभिजन तथा खानेपानीको समेत व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्