खाँडादेवी गाउँपालिकामा पाँच सय किलोमिटर सडक बन्यो



१६ भदौ, रामेछाप ।
खाँडादेवी गाउँपालिकामा हालसम्म पाँच सय किलोमिटर भन्दा बढी सडक निर्माण भएको छ । सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको गाउँपालिकाले साढे चार बर्षको अवधिमा पाँच सय किलोमिर सडक निर्माण गरेको हो ।स्थानीय तहको निर्वाचन हुनु अघि खाँडादेवी गाउँपालिकाभित्र करिब डेढ सय किलोमिटर मात्र ग्रामिण सडक निर्माण भएको थियो । गाउँपालिकाले यस अवधिमा योजनाबद्ध रुपमा सडक निर्माणको कामलाई तीब्रता दिएको छ । गाउँपालिकाको सबै वडासम्म हिउद बर्षा नै यातायात सञ्चालन गर्ने नीति अनुरुप हाल सबै वडासम्म सहज रुपमा यातायात सञ्चालन हुने अवस्था रहेको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सडकलाई पहिलो प्राथमिकता राखेर काम गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले नेतृत्व सम्हाल्दा गाउँपालिकाभित्र डेढ सय किलोमिटर सडक निर्माण भएको छ, साढे चार बर्षको अवधिमा गाउँपालिकाभित्र योजनाबद्ध रुपमा पाँच सय किलोमिटर सडक निर्माण भएको छ ।’

उनका अनुसार अब गाउँपालिकाभित्र नयाँ ट्रयाक ओपन गर्ने कामलाई स्थगित गर्दै निर्माण गरिएको ग्रामिण सडकलाई व्यवस्थित गर्ने नीति अनुरुप काम अगाडि बढाइएको छ । गाउँपालिकाभित्र हालसम्म २४ किलोमिटर सडक कालोपत्रे र १६ किलोमिटर ग्राभेल गरिएको छ । यातायात गुरु योजना (एमटिएमपी) अनुसार २४८ किलोमिटर सडकको योजना तयार गरेको छ ।

गाउँपालिकाका इन्जिनियर ईश्वर खड्काले गाउँपालिकाभित्र निर्माण गरिएका सडकलाई व्यवस्थित बनाउने नीति अनुरुपको काम अगाडि बढाइएको बताए । उनले अधिकाशं ग्रामिण सडकलाई व्यवस्थित गर्नको लागि ग्राभेल, सोलिङ मेसिनरी वाल निर्माण लगायतका कार्यक्रमलाई अगाडि बढाइएको बताए ।

रामेछापको ६ वटा स्थानीय तह मध्ये सबै भन्दा बढी कालोपत्रे सडक भएको खाँडादेवी गाउँपालिका हो । गाउँपालिकाको सित्खा भिरपानी गोगनपानी खण्ड र मन्थली भटौली हुँदै पकरवासम्मको मुख्य सडक कालोपत्रे भएको छ । निवर्तमान बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलको पहलमा उक्त सडक कालोपत्रे भएको हो । गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको पकरवास हुँदै गाल्वासम्म जोडने सडक र गोगनपानी हुँदै भोटनागी जोडने सडकको कालोपत्रे पनि बहुबर्षिय ठेक्का प्रक्रियाबाट अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्