रामेछापमा कांग्रेसको चहलपहल: सभापतिका प्रत्यासीकाे आँखा वडा अधिवेशनमा



२१ भदौ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको ६४ वटै वडामा भदौ २३ गते एकसाथ वडा अधिवेशन हुँदैछ । वडा अधिवशेन आउन दुई दिन बाँकी रहदा जिल्लाका ६४ वटै वडामा चहलपहल बढेको छ । केन्द्रदेखि वडा तहसम्म गुट रहेको कांग्रेसभित्र आ–आफ्नो गुटका व्यक्तिलाई वडा सभापति बनाउन दौडधुप बढेको छ । जिल्ला सभापतिसहित पदाधिकारी चयनमा वडा अधिवेशनबाट चुनिएर आउने प्रतिनिधिहरुको महत्वपूर्ण हात हुने भएकाले सभापतिको प्रत्यासहरुको ध्यान वडा अधिवशेनमा केन्द्रीत भएको छ ।

जिल्ला अधिवेशनका लागि ६४ वडा र ८ स्थानीय तहबाट गरी १३ सय भन्दा बढी जनप्रतिनिधिहरु चयन हुने छन् । तिनै प्रतिनिधिले दिने भोटको आधारमा सभापति बन्ने बाटो खुल्नेछ । नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायणका खड्काका अनुसार रामेछाप जिल्लामा हाल ११ हजार भन्दा बढी क्रियाशिल सदस्य रहेका छन् । गत जिल्ला अधिवेशन भन्दा यस अधिवेशनमाा कांग्रेसले झण्डै दोब्बर क्रियाशिल सदस्यता थपेको छ ।

रामेछाप कांग्रेसको भावी सभापतिको लागि हालका सभापति लवश्री न्यौपानेले पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसैगरी अर्जुन केसी, पूर्ण बहादुर तामाङ (कान्छाराम), कृष्ण महतले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सभापतिका उम्मेदवारी दिने घोषणा गरेका नेताहरु वडा तहबाटै आ–आफ्नो पक्षमा बढी भन्दा बढी प्रतिनिधि छनोट गराउने रणनीतिमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्