अब रामेछापका सबै विद्यालयमा भौतिक रुपमा पढाइ हुन्छः प्रजिअ सैजू



२२ भदौ, रामेछाप ।
लामो समयदेखि बन्द रहेका रामेछापका विद्यालयहरुमा अब भौतिक रुपमा पठनपाठन हुने भएको छ । कोरोनाको कारण प्रभावित बन्न पुगेको पठनपाठन पुनः सुचारु हुन लागेको हो । जिल्ला प्रशासन कार्यालय रामेछापले स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा नै पठनपाठन गर्न सकिने निर्णय गरेको छ । यसअघि नै मन्थली नगरपालिकाले भौतिक रुपमा नै विद्यालयमा पठनपाठन सुचारु गर्ने निर्णय गरेको थियो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले अब भौतिक रुपमा नै विद्यालयमा पठनपाठन गर्न सकिने निर्णय गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘कोभिडको कारण लामो समय विद्यालयमा भौतिक रुपमा पढाइ हुन सकेको छैन, हामीले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेका छौं ।’

जिल्ला प्रशासनको निर्णयसँगै स्थानीय तहहरु बन्द रहेको विद्यालय सुचारु गर्ने गृहकार्यमा लागेका छन् । रामेछाप नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र सुनापति गाउँपालिकाले विद्यालय सञ्चालन गर्नको लागि तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्