एमाले रामेछापको जिल्ला कमिटीको बैठक भोली, माओवादीबाट आएका पनि सहभागी हुने



२६ भदौ, रामेछाप ।
नेकपा एमालेको जिल्ला कमिटीको बैठक भोली बस्ने भएको छ । आजको लागि बोलाइएको जिल्ला कमिटीको बैठक भोली बस्न लागेको हो । पार्टीभित्र दस बुँदे सहमति कार्यान्वयन अन्तर्गत जिल्ला कमिटीको बैठक बोलाइएको छ । यसअघि बसेको पार्टीका पदाधिकारी बैठकले संगठनलाई थप चलायमान बनाउन जिल्ला कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

दस बुँदे सहमति कार्यान्वयन गर्दै जिल्लाको अध्यक्ष रहेका आनन्द श्रेष्ठले आफू पुरानै कमिटी अन्र्तगतको सचिवको जिम्मेवारी सम्हाल्दै शान्ति पौडेललाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिसकेका छन् । २०७५ जेठ २ अघि नेकपा एमाले रामेछापका अध्यक्ष शान्ति पौडेल रहेका थिए । नेकपामा आन्तरिक विवाद भएपछि आनन्द श्रेष्ठ जिल्ला कमिटीको अध्यक्ष भएका थिए भने पौडेल नेपाल समुहबाट अध्यक्ष भएका थिए ।

तत्कालिन नेकपा पार्टी बन्नु अघि रामेछापमा एमालेको जिल्ला कमिटीको सदस्य ७३ सदस्यीय रहेको थियो । भोलीको बैठकमा पूर्व माओवादीबाट जिल्ला कमिटीमा सहभागी भएकाहरु पनि सहभागी हुने भएका छन् । नेकपा एमाले रामेछापका उपाध्यक्ष एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले भोलीको बैठकमा ८९ जना सहभागी हुने रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार जिल्ला कमिटीको बैठकले विभागका प्रमुखहरु पनि तोक्नेछ ।
पूर्व माओवादीबाट एमालेमा प्रवेश गरेका ज्ञान कुमार योञ्जन, भुवन घिमिरे, पुष्पराज पौडेल, सुमन लामा लगायतका नेताहरु जिल्ला कमिटीको सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्