रामेछापमा छिमेकीको पाठी चोरी काटेर खाने तामाङ पक्राउ



२८ भदौ, रामेछाप ।
सुन चाँदी र पैसा चोरी भएको घटना त सुन्दै आएको हो । तर रामेछापमा अनौठो चोरीको घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकीको गोठमा रहेको पाठी चोरेर खाने सुनापति गाउँपालिका–४ बेथान स्थित भल्वाडीका ५६ बर्षिय उदय बहादुर तामाङ पक्राउ परेका छन् ।

गोठमा बाँधेको पाठी हराएपछि छिमेकीले खोजी गर्ने क्रममा उनले काटेर खाएको तथ्य पत्ता लागेको थियो । छिमेकीको पाठी चोरी काटेर खाने तामाङलाई ईकाला प्रहरी कार्यालय बेथानले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याएको छ । उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । शुक्रवार राती पाठी चोरी राती नै काटेर खाएको थाहा पाएपछि उनी फरार रहेका थिए ।

फरार रहेका तामाङलाई हिजो पक्राउ गरिएको थियो । प्रहरीका अनुसार तामाङ यसअघि पनि पटक–पटक अपराधिक क्रियाकलापमा संलग्न हुँदै सजाय भोगेर छुटदै आएका हुन् । प्रहरीले पक्राउ परेका तामाङमाथि जिल्ला अदालत रामेछापबाट दस दिन म्याद थपेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्