अब निजी आवास पुनर्निर्माणकाे बाँकी काम शहरी विकास विभागले गर्ने



काठमाडौं, भदौ ३०
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका निजी आवासलगायतका संचनाहरुको पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित निकायमा हस्तान्तरण सुरु भएको छ ।
बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित एक औपचारिक कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बाहरु तथा सडक एवं पुलहरुको कार्य हस्तान्तरण गरिएको हो ।
निजी आवास तथा बस्ती विकासतर्फका बाँकी कार्यहरु शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ ।
यसका साथै, सरकारी एवं सार्वजनिक भवन एवं स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत सञ्चालित सम्पदा एवं गुम्बाहरुको पुनर्निर्माण सम्बन्धी कार्यहरु पनि उक्त विभागलाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्याम किशोर सिंहले उक्त बाँकी कार्यहरु शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गर्नुभएको हो ।
यसका साथै केन्द्रिय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले गर्दै आएको निजी आवास तथा बस्ती विकास तर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापन सहितका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु पनि शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का आयोजना उपनिर्देशक नारायण प्रसाद श्रेष्ठले उक्त कार्यहरु शहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्