नेपालमै अहिलेसम्मकै धेरै २५ किलो सालकको खपटासहित रामेछापका दुई भाई पक्राउ



३१ भदौं, काठमाडौं ।
नेपाल प्रहरीले ठूलो मात्रामा सालकको खपटासहित रामेछापका दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय रामेछापकाबाट खटिएको संयुक्त टोलीले आज मन्थली नगरपालिकाको देवकोटा चोकबाट लिखु तामाकोसी गाउँपालिकाका दुई जनालाई २५ किलो सालटकको खपटासहित पक्राउ गरेको हो । रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही वडा बस्ने ३२ वर्षीय ध्यानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले झोलामा लुकाएर ल्याएको २५ किलो सालकको खपटा बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

उनका अनुसार यो मात्रा सम्भवत नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै बरामद भएको हो। प्रहरीले २५ किलोसम्मको खपटा निकाल्न धेरै सालक मारिएको हुनुपर्नेअनुमान गरेको छ । ७० देखि ८० वटा नेपाली सालकलाई मारेर खपटा निकालिएको अनुमान प्रहरीले गरेको छ । प्रवक्ता महतोका अनुसार पक्राउ गरिएको खपटा नेपाली सालक भएको खुलेको बताए । वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि यस ब्युरोले विशेष सूचना पाएको थियो।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा प्रहरीको टोलीले ठूलो मात्रामा सालकको खपटा पक्राउ गर्न सफल भएको हो । उनीहरूले लामो समयदेखि सुकाएर भण्डारण गरिराखेको सालकको खपटा बेच्न ग्राहक खोजिरहेको भन्ने सूचना पाएपछि प्रहरीले ब्युरोको टोली रामेछाप आएको थियो । देवकोटा चोकमा झोलामा खपटा लिएर पैदल हिडने क्रममा उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार ५ लाखदेखि १० लाखसम्म जरिवाना, ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय वा दुबै हुनसक्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्