रामेछाप कांग्रेसको विवादः पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना



६ असोज,रामेछाप ।
नेपाली कांग्रेस सुनापति गाउँपालिका–२ दिमीपोखरी वडाको वडा अधिवेशनको विवाद जिल्ला हुँदै केन्द्रीय कार्यालय सानेपासम्म आइपुगेको छ । वडा अधिवेशन सम्पन्न भएर मतदान अधिकृतले भिमबहादुर थापामगरलाई प्रमाणपत्र दिएपनि असन्तुष्ट समुहको नेतृत्व गरेर यान बहादुर श्रेष्ठले मतदानमा धाँधली भएको भन्दै निर्वाचन अधिकृत समक्ष लिखित उजुरी दिएको थिए ।

त्यसपछि निर्वाचन अधिकृत विष्णु लुइँटेलले सहमति जुटाउने कोशिस गरेका थिए । विवाद समाधान गर्नको लागि वर्तमान सभापति लवश्री न्यौपाने, पूर्व जिल्ला सभापति रामचन्द्र खडका, शिक्षक संघ रामेछापका सभापति नवराज घिमिरे रहेको तीन सदस्यीय कार्यदल बनेको थियो । उक्त समितिले पनि विवाद समाधान गर्न नसकेपछि दिमीपोखरीको विवाद अहिले केन्द्रीय कार्यालय सानेपामा आइपुगेको छ ।

असन्तुष्ट समुहलाई जिल्ला सभापति लवश्री न्यौपानले साथ दिदै आएका छन् । सभापति न्यौपानले भने धाँधली गरेर गरिएको वडा अधिवेशन आफूलाई मान्य नभएको रामेछाप न्युजलाई बताए । दिमीपोखरी गत निर्वाचनमा रामेछापको प्रदेश निर्वाचन क्षेत्र ख बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जित बहादुर थापामगरको वडा पनि हो ।

दिमीपोखरीको वडा अधिवेशनलाई कांग्रेसका नेताहरुले प्रतिष्ठाको विषय बनाउदा थप जटिल बन्दै गएको छ । गाउँ÷नगर, जिल्ला र प्रदेशको निर्वाचनको मिति नजिकदै गर्दा समेत विवाद समाधान हुन सकेको छैन् । असन्तुष्ट समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिलेअनसन र धर्ना सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्