पर्यटकीय गन्तव्य शैलुङ डाँडामा पहिलो पटक बिजुली बल्यो, थपियो नयाँ आकर्षण



९ असोज, रामेछाप ।
रामेछाप र दोलखा जिल्लाको संगमस्थल पर्यटकीय गन्तव्य शैलुङ डाँडामा पहिलो पटक बिजुली बलेको छ । दोरम्बा शैलुङ गाउँपालिका, राजभिर टासी छोलिङ गुम्बाका धर्मगुरु सोनाम हयोल्मोको पहल र नेपाल विद्युत प्राधिकरणको सहयोगमा पहिलो पटक शैलुङको छर्योतेन र भ्युटावरमा बिजुली बलेको हो । गाउँपालिकाको खोलाखर्कदेखि शैलुङको भ्युटावरसम्म करिब एक किलोमिटर बिजुली विस्तारको लागि पोल र तार प्राधिकरणले उपलब्ध गराएको थियो ।

दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले करिब आठ लाख रुपैयाँ लगानीमा शैलुङ डाँडामा विद्युतीकरण गर्ने काम सम्पन्न भएको रामेछाप न्युजलाई बताए । उनले विद्युतीकरणको कार्यमा सहयोग गर्नुहुने धर्मगुरु र नेपाल विद्युत प्राकिरणलाई धन्यवाद दिए । शैलुङ्गको सौन्दर्य नविग्रियोस बनेर करिब एक सय बिजुलीको तार अण्डरग्राउण्ड गरिएको छ ।

शैलुङ्ग डाँडामा रहेको छ्र्योतेन र भ्युटावरमा बिजुली बलेसँगै शैलुङ्गमा नयाँ आकर्षण थपिएको छ । साँझको समय घुम्न जाने पर्यटकहरुको लागि शैलुङ्गमा उज्यालो थपिएको छ । केही समय अघि मात्र पर्यटन विभागले शैलुङ्गको भ्युटावर दोरम्बा शैलुङ्ग गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । शैलुङ्ग क्षेत्रमा पर्यटन बृद्धि गर्नको लागि गाउँपालिकाले भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्