यी हुन रामेछापका आठ स्थानीय तह हाँक्ने कांग्रेसका सभापतिहरु



१० असोज, रामेछाप ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रामेछापको आठ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । आज भएको अधिवेशनले आठ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । रामेछापको दुई नगरपालिका र ६ वटा गाउँपालिकामा आज भएको अधिवेशनले सभापति र पदाधिकारी चयन गरेको हो । विवादरहित ढंगले एकसाथ अधिवेशन सम्पन्न भएर निर्वाचन भएको स्थानीय तहको समेत परिणाम आएको जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले रामेछाप न्युजलाई बताए । उनका अनुसार अधिकांश स्थानीय तहमा सर्वसम्म नेतृत्व चयन भएपनि केही स्थानीय तहमा मात्र निर्वाचन भएको थियो ।

रामेछापको सबै भन्दा धेरै ३२१ जना क्षेत्रिय प्रतिनिधि रहेको मन्थली नगरपालिकामा शकंर अधिकारी निविरोध सभापतिमा चयन भएका छन् । त्यसैगरी रामेछाप नगरपालिकाको सभापतिमा कमल विक्रम कार्कीले माजी मार्न सफल भए । सुनापति गाउँपालिको सभापतिमा जनक खड्का सर्वसम्मत चयन भए भने दोरम्बा शैलुङ गाउँपालिकाको सभापतिमा केशव कुमार लामा र खाँडादेवी गाउँपालिकामा तेज घिसिङ सभापतिमाा चयन भएका छन् ।

त्यसैगरी लिखु तामाकोसी गाउँपालिकाको सभापतिमा भोजराज खड्का, गोकुलगंगा गाउँपालिकाको सभापतिमा मणिकुमार लामा र उमाकुण्ड गाउँपालिकामा हिक्मत सुनुवार सभापतिमा निर्वाचित भएका छन् । ६४ वटै वडा अधिवेशन र आठ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएसँगै अब कांग्रेसको प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन हुने भएको छ । जिल्ला निर्वाचन अधिकृत लुइँटेलका अनुसार असोज १४ गते प्रदेश क र ख को अधिवेशन हुनेछ भने असोज १६ गते जिल्ला अधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्