सुनकोसी–२ जलविद्युत आयोजना खारेजी गर्न रामेछापका माझी समुदायले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापनपत्र



१९ असोज, काठमाडौं ।
सुनकोसी–२ जलाशयुक्त आयोजना खारेजी गर्न माग गर्दै रामेछापमा माझी समुदायले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेशका सांसद रिता माझीको नेतृत्वमा गएको टोलीले कुनै पनि हालतमा सुनकोसी दोस्रो जलविद्युत आयोजना निर्माण गर्न नहुने माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो । माझी समुदायको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री देउवाले मागको बारेमा आफूले बुझेर हुन सक्ने माग सम्बोधन हुने जवाफ दिएका थिए ।
माझी समुदायले आयोजना निर्माण हुँदा आदिवासी माझी र अन्य स्थानीय समुदायको पुख्र्यौली भूमि, पहिचानजन्य भाषा, धर्म, भेषभुषा, संस्कार, संस्कृति, रितिरिवाज, ऐतिहासिक थातथलो, पुरातात्विक स्थलको पहिचान समाप्त हुनेप्रति चिन्ता व्यक्त गर्दै सर्घषमा उत्रिएको छ ।


लदीपुजा, कोशीपुजा, साँस्कृतिक स्थल, पितृ बोलाउने, बगाउने स्थान, घाटहरु, सामुहिक र सामुदायिक सम्पत्तिहरु, देवथान, मठमन्दिर, देउराली, चौतारा, पानीका मुहान, पँधेरा, माछा मार्ने, डुङ्गा चलाउने, मर्चा बनाउने, सामाजिक संरचना, प्रथा र प्रथाजनित कानुन र संस्था (मझेसावा), इतिहास लगायत समग्ररुपमा भौतिक, साँस्कृतिक, राजनैतिक, आर्थिक र सामाजिकरुपमा विस्थापित गर्ने तथा भूमिहिन र पहिचानविहिन बनाई इतिहास समाप्त हुने चिन्ता व्यक्त्त गरेकाे ५ ।

सभ्यता, अस्तित्व र पहिचान समाप्त पार्ने भएको हुँदा नेपालको संविधान, कानुन र अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गर्दै माझी समुदाय र अन्य स्थानीयवासीको जातीय अस्तित्व र पहिचान रक्षाका लागि सुनकोशी २ जलविद्युत खारेजी हुनु पर्ने माग संघर्ष समितिले अगाडि सारेको छ । सिन्धुली र रामेछापका बीच बग्ने सुनकोसी नदीमा उच्च बाँध निर्माण गरी ९ सय ७८ मेघावाट क्षमताको आयोजना अघि बढाएको छ ।
यसअघि संघर्ष समितिले उर्जा मन्त्री पम्फा भुसाल र विद्युत विकास विभागको महानिर्देशलाई आयोजना खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्