रामेछापमा १५ यात्रुसँग बढी भाडा लिने चालकमाथि कारवाही, बढी भाडा फिर्ता गराइयो



२५ असोज, रामेछाप ।
दशैको मुखमा यात्रुसँग बढी भाडा असुल्ने सार्वजनिक सवारी साधनमाथि जिल्ला प्रहरी कार्यालय रामेछापले निगरानी बढाएको छ । यात्रुहरु नठगिउन भनेर नागरिक सहायता कक्षा समेत सञ्चालनमा ल्याएको प्रहरीले छडेक चेकजाँचलाई समेत तीब्रता दिएको छ । प्रहरीले यात्रुले दिएको सूचनाको आधारमा काठमाडौंबाट रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछापसम्म चल्ने हाइस गाडीले बढी भाड लिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले मन्थली नगरपालिकाको सेलेघाट नाकामा चेकजाँच गर्ने क्रममा बा २ ख ९३५३ नम्बरको हाइसले तोकिए भन्दा दुई सय भाडा लिएको प्रमाण फेला परेको हो ।


सरकारले काठमाडौंबाट रामेछापडाँडासम्म ६ सय रुपैयाँ भाडा निर्धारण गरेको भएपनि १५ जना यात्रुसँग प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा बढी भाडा लिएको पाइएको रामेछाप न्युजलाई बताए । उनका अनुसार यात्रुसँग लिएको बढी भाडा फिर्ता गराइएको छ । नियम विपरीत भाडा लिने चालक राजेन्द्र कार्कीलाई दुई हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्