टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा



२८ असोज, काठमाडौं ।
नेपालीहरूको महान् चाड बडादसै आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ ।

विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः०२ बजेको दिइएको समितिका अध्यक्ष का अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादसैँ पर्व मनाउने परम्परा बसेको शास्त्रीय प्रमाण रहेको छ । यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म लगाइन्छ ।

नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्