बाढी पहिरोको वितण्डाः ८५ जनाको मृत्यु, २६ जना अझै वेपत्ता



३ कात्तिक, काठमाडौं ।
अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको हो ।
त्यसैगरी १ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा २६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ हजार २८ वटा घर डुबानमा परेका छन् । ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल, र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय १ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा १ सय ३४ वटा विपद्‍का घटनाबाट १ हजार ५० वटा घर परिवार विस्थापित भएका छन् ।
बाढी पहिरोका कारण कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्