रामेछाप कांग्रेसको महाधिवेशनमा धाँधली भएको भन्दै पुनः मतगणना गर्न माग



१७ कात्तिक, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिवेशनमा जिल्ला नेतृत्व र प्रतिनिधि चयनमा धाँधली भएको भन्दै निर्वाचनमा पराजित उम्मेदवारका केही प्रत्यासीहरुले पुनः मतगणना गर्न माग गरेका छन् । निर्वाचन सम्पन्न भएर नयाँ नेतृत्वले काम थालिसकेको एक महिनापछि केही असन्तुष्ट उम्मेदवारका प्रत्यासीहरुले पुनः मतगणनाको माग गरेका हुन् । मत गणनाको क्रममा पूरा मत नगनिएको गुटको दबाबमा धाँधलीपूर्वक मत गनिएको भन्दै महाधिवेशन प्रतिनिधि खुल्ला तर्फका उम्मेदवारहरु झनक श्रेष्ठ, गजेन्द्र कार्की, डा.सुमन कर्मचार्य, जनजाती महिला तर्फकी उम्मेद्वार सुमित्रा मोक्तान, ज्योती सुनुवार, जिल्ला कार्य समिति उपसभापती पदका उम्मेद्वार वेदराज लामाले पुनः मत गन्नुपर्ने माग गरेका छन् ।

निर्वाचनमा पराजित उम्मेदवारका प्रत्यासीहरुले गाउँपालिका तथा नगरपालिकाबाट निर्वाचित भएका क्षेत्रिय प्रतिनिधिहरुमध्येबाट जम्मा एक हजार ३८८ मत खसेको भन्ने बाहिर आएको भएपनि कति मत खस्यो भन्ने विवरण निर्वाचन समितिले रेकर्ड नराखेको, महाधिवेशन प्रतिनिधिको ४९ वटा मतपत्र जिल्ला कार्यसमितिको पदाधिकारी तथा सदस्यको मतपेटीकामा भेटिएको र उक्त मत नगनिएको भन्दै पुनः मत गणना गर्नुपर्ने माग पार्टीको केन्द्रीय निर्वाचन समिति समक्ष राखेका छन् ।

उम्मेदवारलाई आचारसंहिताका बिषयमा जानकारी नगराईएको, मतगणना स्थलमा उम्मेदवारहरुलाई प्रवेश निषेध गरिएको, मतगणना समितिले उम्मेदवार तथा गुटको दबावमा मतगणना गरिएको कारण मतगणना धाँधलीपूर्वक हुँदा हार्ने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्था रहेकाले अधिवेशनमा भएका मतपेटीका केन्द्रीय कार्यालयमा झिकाई पुनः मतगणना गर्न माग गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका तत्कालिन सहायक निर्वाचन अधिकृत अर्जुन श्रेष्ठले निर्वाचन पारदर्शी ढंगले सम्पन्न भएको दावी गरे । उनले भने,‘हामीले निर्वाचनको प्रक्रिया अन्तर्गत नै निर्वाचन गरेर जिल्लाको नेतृत्व, प्रदेश र संघको प्रतिनिधिहरु निर्वाचित भएको घोषणा गरेर प्रमाणपत्र दिएका छौ, निर्वाचनमा धाँधली भयो भन्ने सुहाउने विषय होइन ।’

प्रतिक्रिया दिनुहोस्