भक्तपुर सवारी दुर्घटना प्रकरणः दुर्घटना नभई हत्या गरिएको पीडित परिवारको आशंका, प्रहरीले लिन मानेन जाहेरी



२० कात्तिक, भक्तपुर ।
भक्तपुरको धुन्चेपाखामा मृत भेटिएका रामेछाप लिखुतामाकोसी गाउँपालिका–६ का राजकुमार तामाङको दुर्घटनामा नभई हत्या भएको आशंका पीडित परिवारले गरेको छ । प्रहरीले स्कुटर दुर्घटनामा परी तामाङको निधन भएको बताए पनि पीडित परिवारले दुर्घटना स्थलको प्रकृति हेर्दा दुर्घटना नभई हत्या गरेर फ्याकिएको आशंका गरेको हो ।

मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२–०१६प ३४३६ नं को स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा बिहिबार राती तामाङको निधन भएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । पीडितका आफन्त विक्रम घिसिङले घटनाको प्रकृति हेर्दा राजकुमार तामाङको दुर्घटनामा नभई हत्या गरेर फ्याकिएको आफूहरुलाई धेरै आशंका रहेको बताए । उनले भने,‘राती १२ बजे घरबाट हिडेको भाई राती १ बजे मृत्यु भयो भनेर हामीलाई खबर आएको थियो, दुर्घटना भएको स्कुटरको अवस्था र भाईको शरीरमा देखिएको चोटपटक हेर्दा दुर्घटना होइन, हत्या गरेर फ्याकिएको हो ।’

घिसिङले भाइको हत्या भएको विषयमा प्रहरी समक्ष किटानी जाहेरी दिन खोल्दा प्रहरीले नलिएपछि आफूहरु थप चिन्तित भएको बताए । प्रहरीले किटानी जाहेरी दर्ता नगर्दासम्म आफूहरुले शव नबुझने घिसिङले बताए । उनका अनुसार प्रहरीले सवारी दुर्घटना सम्बन्धि जाहेरी प्रहरीले दर्ता गरेपनि कर्तव्य जान सम्बन्धि जाहेरी दिन मानेको छैन् ।

विहिवार राती घरमा रमाईलो गरेर साथीहरुको बारम्बार फोन आएको भन्दै तामाङ स्कुटर लिएर साथी भेटन जाने भन्दै घरबाटा निस्किएका थिए । तर घरबाट निस्किएको एक घण्टापछि उनको मृत्यु भएको खबर परिवारलाई प्रहरीले दिएको थियो । तामाङ तिहार मानेर विदेश जाने तयारीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्