राखेपका नवनियुक्त सदस्य सचिवको घिसिङद्धारा पदभार ग्रहण (फोटोफिचर)



१४ मंसिर, काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज पद तथा गोपनियताको शपथ लिएका छन् । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई शपथ गराएका हुन् । मन्त्री गहतराजले खेलकुद परिषद्ले राजनीतिभन्दा पनि खेलाडीको हकहितमा रहेर काम गर्नुपर्ने उल्लेख गर्दै खेलाडीको मनोबल उच्च बनाउन आफूले सक्दो प्रयास गर्ने बताए ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो । सरकारले घिसिङलाई चार वर्षका लागि नियुक्त हुनुभएको हो । घिसिङ नेपाल रग्बी संघका अध्यक्ष रहेका थिए । शपथ गरेसँगै आज नै घिसिङले राखेपमा पदभार ग्रहण गरेका छन् ।
राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले राष्ट्रिय टोलीको सुधारलाई जोड दिने बताउदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई कसरी सफलता दिलाउन सकिन्छ, त्यस विषयमा विशेष ध्यान दिने बताए । उनले राष्ट्रिय टिम निर्माणका लागि आवश्यक तयारी रोकिएको र त्यसलाई सञ्चालन गर्ने तथा खेलाडीलाई बीमा गर्ने ठोस नीति कार्यक्रम नभएकाले यसलाई अगाडि बढाउने निर्णयसमेत आफूले गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्