रामेछापबाट एमालेका पाँच जना केन्द्रीय सदस्य बन्दा पौडेल र गौतम अटाएनन



स्नेहा सिलवाल
२९ मंसिर, काठमाडौं ।नेकपा एमालेको दसौ महाधिवेशन अन्तर्गत निर्वाचित र मनोनित गरी रामेछापबाट पाँच जना केन्द्रीय सदस्य भएका छन् । रामेछापबाट कैलाश ढुंगेल, कमल चौलागाई, माधव ढुगेल, गिता कार्की र चुडादेव लामा केन्द्रीय सदस्य भएका छन् । केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य रहेका कमल चौलागाईलाई पोलिटब्यूरो सदस्य, कैलाश ढुगेललाई रामेछापको जिल्ला इन्चार्ज र माधव ढुंगेललाई विद्यार्थीको इन्चार्जको जिम्मेवारी तोकेको छ । कार्की र लामाकाे भने अहिले जिम्मेवारी तोकिएको छैन् । कैलाश ढुंगेल पोलिटब्यूरो सदस्य हुने चर्चा चलेपनि अन्ततः पार्टीले जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।

त्यसैगरी दसौ महाधिवेशन अघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका एमालेका नेता रत्न गौतम अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको लिस्टमा अटाउन सकेनन् । उनलाई मनोनित गर्नुपर्ने दबाब भएपनि अन्ततः केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्ताव गरेको नामावलीमा गौतमको नाम समावेश भएन । राजनीतिकसँगै सामाजिक क्षेत्रमा सक्रिय रहेका गौतम गत प्रदेश सभाको निर्वाचनमा रामेछाप प्रदेश ‘ख’बाट उम्मेदवारमा पार्टीको तर्फबाट सिफारिस भएका थिए । तर अन्तिम समयमा आएर उनले टिकट पाएनन । उपाध्यक्ष विष्णु पौडेल निकट रहेका गौतमले यस पटक पनि केन्द्रीय सदस्य बन्ने अवसर पाउन सकेनन् ।

त्यसैगरी एमाले विभाजित हुँदा अन्तिम समयमा माधव कुमार नेपालको साथ छोडेर पार्टीमै रहेका एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेलले पनि केन्द्रीय सदस्य बन्नबाट बञ्चित भएका छन् । उनले पनि केन्द्रीय सदस्य हुने इच्छा जनाएका थिए । गुटगत रुपमा नेताको चाडकी गर्न नजानेकै कारण पौडेल पनि केन्द्रीय कमिटीको सदस्यको लागि योग्य ठहरिएनन । पार्टीमै रहेको कारण अष्टलक्ष्मी शाक्यको नेतृत्वमा केही दिन मन्त्री भएका पौडेलले पनि केन्द्रीय सदस्य बन्ने चाहना अधुरै भएको छ । लामो समयदेखि पार्टी राजनीतिमा क्रियाशिल रहदै आएका उनले अब पुनः जिल्ला अध्यक्ष हुने वा प्रदेश कमिटीमा रहरे काम गर्ने भन्ने विषयमा निर्णय लिएका छैनन् । एमालेको जिल्ला कमिटीको अधिवेशन आगामी पुस २३ गते हुँदैछ ।

त्यसैगरी एमालेकी नेतृ एवं मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले पनि यस पटक महिला कोटाबाट केन्द्रीय सदस्य बन्ने गरी अधिवेशन अघि उम्मेदवारी घोषणा गरेकी थिइन । तर केन्द्रीय सदस्यमा कार्कीको पनि नाम अटाउन सकेन । पार्टीले मनोनित गर्ने सिटमा पर्ने आशा गरेपनि अन्ततः पार्टीले गिता कार्कीलाई केन्द्रीय सदस्य बनाएर माया कार्कीलाई आउट गरेको छ ।

महाधिवेशनबाट निर्वाचित कैलाश ढुंगेल, कमल चौलागाई र माधव ढुंगलेको विषयमा विवाद नभए पनि केन्द्रीय कमिटी बैठकबाट गिता कार्की र चुडादेव लामा केन्द्रीय कमिटीमा मनोनित भएको विषयप्रति एमाले रामेछापमा चर्को असन्तुष्टि बढेको छ । पार्टीमा लामो समय सक्रिय रहेका नेताहरुलाई पाखा लगाउदै नेताको चाहनामा केन्द्रीय सदस्य चयन गरिनु गलत भएको एमाले रामेछापका एक नेताले बताए । उनले भने,‘केन्द्रीय सदस्यमा चयन भएका नेताहरुप्रति हाम्रो सम्मान छ, तर लामो समय पार्टीमा लागेका नेताहरुको अपमान हुने गरी केन्द्रीय सदस्य चयन गरिनु गलत भएको छ ।’

प्रतिक्रिया दिनुहोस्