रामेछाप जिल्लाकै ठूलो सभा हल गाल्वामा निर्माण गरिने, मन्थलीमा कहिले ?



६ पुस, रामेछाप ।
रामेछाप जिल्लामा हालसम्म पाँच सय जना अटाउने सभा हल निर्माण हुन नसक्दा सभा सम्मेलन गर्न पाल टांग्नु पर्ने अवस्था रहेको छ । सदरमुकाम मन्थलीमै हाल दुई सय भन्दा बढी अटाउने हल छैनन् । बजार क्षेत्रमा पार्टी प्यालेस खुल्ने क्रम बढेपनि मन्थली बजार क्षेत्रमा ठूला पार्टी प्यालेस सञ्चालनमा आउन सकिरहेको छैन् ।

ठूला सभा सम्मेलन गर्नको लागि अहिले पनि खुल्ला चौरकै भर पर्नु पर्ने बाँध्यता कायमै छ । मन्थलीमा रहेको जिल्ला समन्वय समितिका हल निकै साँघुरो रहेको छ । जिल्लामा हुने कार्यक्रम गर्नको लागि मन्थलीमा रहेको मिडिया हलमा एक सय जना अटाउन सकिने अवस्था रहेको छ । नगर विकास कोषले मन्थलीमा निर्माण गरेको सामुदायिक हलमा मुस्किलले दुई सय जना अटाउन सक्ने क्षमता रहेको छ । भुकम्पपछि कुनै पनि विपद् पर्दा अस्थायी बसोबासको लागि निर्माण गरिएको सामुदायिक हलमा अहिले जिल्ला स्तरका सभा सम्मेलन सञ्चालन हुँदै आएको छ ।

जिल्लामा अन्य पूर्वाधार बनेपनि पाँचदेखि एक हजार जना अटाउन सुविधा सम्पन्न हल अझै निर्माण गर्न ध्यान जान सकिरहेको छैन् । रामेछापबाट मन्त्री बनेकाहरुले पनि जिल्लामा सभा हल निर्माण गर्न ध्यान दिएको पाइदैन । अन्य पूर्वाधार निर्माणसँगै सभा हल पनि महत्वपूर्ण मानिदै आएको छ । जिल्लामा हुने राजनीतिक कार्यक्रम होस वा कुनै संघ संस्थाले गर्ने ठूला कार्यक्रममा सभा हलको अभाव अडकिएको लामो समय वितिसक्दा समेत अझै राजनीतिक नेतृत्वको पहल देखिएको छैन् । जिल्लामा सुविधा सम्पन्न सभा हल नहुदा सरकारी सभा सम्मेलन समेत छिमेकी जिल्ला सिन्धुलीमा सञ्चालन हुँदै आएको छ ।

रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापाले एक हजार सिट क्षमताको सभा हल नहुँदा आर्थिक क्षेत्रमा घाटा रहेको बताउछन । उनले रामेछाप न्युजसँग भने,‘जिल्लाभित्रको आर्थिक गतिविधि चलायमान हुन सभा सम्मेलन हुन आवश्यक छ, तर हामीसँग अहिलेसम्म जिल्ला स्तरमा पाँच सय जना अटाउने सभा हल निर्माण हुन सकिरहेको छैन् ।’

आफूहरुले सभा हल निर्माणको लागि पहल गरेपनि राजनीतिक नेतृत्वले सुनुवाई गर्न नसकेको गुनासो गरे । तीन सय जना अटाउने सभा हल अझै जिल्ला स्तरमा निर्माण हुन सकिरहेको छैन, अब राजनीतिक नेतृत्वले ध्यान दिन जरुरी छ । मन्थली नगरपालिकाले हालको जिल्ला समन्वय समितिसँग रहेको जग्गामा सभा हल निर्माण गर्ने विषय अगाडि सारेपनि अझै प्रत्रि mया अगाडि बढन सकेको छैन् । मन्थली नगरपालिकाले हाल तीनलाल पार्कभित्र निर्माणधिन सभा हलमा पाँच सय जना हटाउन सक्ने दावी गरेको छ । तर उक्त हलले पनि जिल्लामा हलको अभाव पूर्ति गर्ने अवस्था नरहेको थापा बताउछन ।

जिल्ला स्तरमा ठूलो सभा सम्मेलन गर्नको लागि हलको अभाव भएसँगै खाँडादेवी गाउँपालिकाको पहलमा सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकाको सहयोगमा गाल्वामा एक हजार सिट क्षमताको सभा हल निर्माण गर्न प्रक्रिया अगाडि बढेको छ ।

तीन गाउँपालिकाको केन्द्र गाल्वामा एक हजार सिट क्षमताको आधुनिक र सुविधा सम्पन्न सभा हल निर्माणको लागि पहल भइरहेको खाँडादेवी गाउँपाकिाका अध्यक्ष प्रेम बहादुर तामाङले बताए । उलने रामेछाप न्युजसँग भने,‘अहिलेसम्म जिल्लाभित्र पाँच सय जना हटाउने सभा हल निर्माण हुन सकिरहेको छैन, अब हामी गाल्वामा सभा हल निर्माणको लागि प्रक्रिया अगाडि बढाउँछौ ।’ तीन गाउँपालिकाको पहलमा सभा हल निर्माणको काम अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्