पर्यटन मन्त्री आलेद्धारा कुलमानको प्रशंसाः वायुसेवा उकास्न प्राधिकरणबाट सिकौं



१९ पुस, रामेछाप ।
घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई छोटो समयमै नाफामा लैजान सफल भएको भन्दै पर्यटनमन्त्री प्रेम आलेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशसा गरेका छन् । उनले धराशायी बनेको नेपाल वायुसेवा निगमलाई उकास्न कुलमान घिसिङको कार्यशैली अनुसरण गर्नुपर्ने बताएका हुन् । विद्युतीय सामान आयातका लागि ढुवानीसम्बन्धी मन्त्रालयमा आयोजित सम्झौता समारोहमा मन्त्री आलेले लोडसेडिङ अन्त्यका लागि कुलमानको व्यवस्थापनको तारिफ गरेका हुन् ।

हामीले अरुको नक्कल गर्नु जरुरी छैन तर करोडौं घाटामा रहेको प्राधिकरण अहिले करोडौं नाफामा पुगेको छ यो नै हाम्रो लागि एउटा उदाहारण हो अब नेपाल वायुसेवा निगमले पनि अनुसरण गर्नुपर्छ, मन्त्री आलेले भने । मन्त्री आलेले तत्काल नतिजामुखी काम गरेर देखाउन कर्मचारी र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।यसैबीच नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र एमओयू०मा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर भएको हो । अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउने छन् । कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिस पत्रका साथै परिचयपत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने छ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने छन् ।
प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५–१० प्रतिशत छुट पाउने छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था एमओयूमा गरिएको छ ।
कार्यक्रममा मन्त्री आलेले डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ सिकेर काम गर्न निगम व्यवस्थापनलाई आग्रह गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी सञ्चालक समितिमा पेश गरिसकेकोले यस बारेमा छिट्टै निर्णय गरिने बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले एमओयूमा गरिएका व्यवस्था कार्यान्वयका लागि तत्काल परिपत्र गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्