ललितपुरमा श्रंखलाबद्ध रुपमा मूर्ति चोर्ने रामेछापका योञ्जन पक्राउ



२० पुस, ललितपुर ।
ललितपुरमा शृङ्खलाबद्ध रुपमा मुर्ति चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा घर भएका २३ वर्षिय नेशनल योञ्जन र ललितपुर महानगरपालिका–२० नःटोल घर भएका ४५ बर्षिय सानुलाल महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । २०७८ मंसिर यता ५ ठाउँबाट मूर्ति चोरेर बेचेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।

मोटरसाइकलमा हिँड्ने योञ्जनले मूर्ति चोर्ने गरेको र ती मूर्ति सानुलालले किन्ने गरेको प्रहरीको भनाइ छ । मंसिर २७ मा ललितपुर महानगर–१२ स्थित टंगालको तंगहिटी ढुंगेधारामा रहेको दुई वटा नारायणको मूर्ति चोरी भएको थियो । तीमध्ये एउटा फेला परेको छ । मंसिर २८ मा ललितपुर महानगर–११ कुम्भेश्वर मन्दिरको मुलढोकामा जडान भएको नारायणको एक थान मूर्ति चोरी भएको थियो ।

त्यसैगरी २०७८ पुस १५ मा गोदावरी नगरपालिकास्थित टौखेलको पञ्चयिन मन्दिर र साउन २८ मा तापाहिटी मन्दिरबाट बुद्धको मूर्ति चोरी भएको थियो । मंसिर १४ मा गोदावरीको सिद्धेश्वर महादेव मन्दिरको नारायण र बसुन्धराको मूर्ति चोरीमा योञ्जन संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । तीमध्ये ३ वटा मूर्ति प्रहरीले बरामद गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्