माघको पहिलो हप्ताभित्रै स्थानीय तहको मिति घोषणा गर्ने तयारी



३० पुस, रामेछाप ।
निर्वाचन आयोगले यही जेठ ५ गतेभित्र नै स्थानीय तहको निर्वाचन गर्न माघको पहिलो साता नै मिति तोक्ने तयारी अगाडि बढाएको छ । तोकिएकै समयसीमाभित्र स्थानीय तहको निर्वाचन गराउन आयोगले मिति घोषणा गर्न गृहकार्य अगाडि बढाएको हो । शुक्रावार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको विषयलाई लिएर राजनीतिक दलहरुसँग परामर्श गरेको छ ।
राजनीतिक दलका प्रतिनिधिलाई आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्था, पदाधिकारीको कार्यकाल गणना, निर्वाचनको मिति तोक्ने सम्बन्धी व्यवस्था, निर्वाचनका लागि आयोगको तयारी र निर्वाचन नभएमा पर्ने प्रभावका बारेमा जानकारी गराएको छ ।
स्थानीय तहका पदाधिकारीकोे पाँच वर्षे पदावधि आगामी २०७९ साल जेठ ५ गते समाप्त हुने र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ वटा काम गर्नुपर्ने भएकाले कानूनतः १२० दिन आवश्यक पर्ने आयोगले बताएको छ ।
निर्वाचन आयोगका आयुक्त निनेशकुमार थपलियाले आयोगले आगामी माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति नतोकिएमा प्राविधिक, व्यवस्थापकीय एवम् व्यवहारिक दृष्टिले निर्वाचन गर्न कठिन हुने हुँदा राजनीतिक दलहरु र सरोकारवाला गम्भीर बन्नु पर्ने बताए । राजनीतिक दलहरुले तहको निर्वाचन यथाशीघ्र तोक्न, निर्वाचनलाई कुनै बहाना बनाएर नटार्न, ‘थ्रेस होल्ड’का विषयमा पुनः विचार गर्न, वैदेशिक रोजगार र प्रवासमा रहेका नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन आयोगलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्