खाँडादेवी गाउँपालिकाको सबै विद्यालयमा नि:शुल्क इन्टरनेट सेवा



२ माघ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाको सबै विद्यालयमा निशुल्क फाइबर इन्टरनेट सेवा पुगेको छ । गाउँपालिकाको पहलमा गाउँपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था, बाल अध्ययन केन्द्र र खाँडादेवी मन्दिरमा इन्टरनेटको सेवा पुगेको हो । गाउँपालिकाभित्र १२ वटा माध्यमिक र ३९ वटा आधारभूत विद्यालय सहित ५१ वटा विद्यालय रहेको छ । सबै विद्यालयमा इन्टरनेटको पहुँच पुगेसँगै विज्ञान र प्रविधिको बारेमा विद्याथीहरुलाई जानकारी लिन सहज भएको छ ।

गाउँपालिकाले अब सबै घरघरमा इन्टरनेट सेवा पुर्याउने नीति अनुरुप काम अगाडि बढाएको छ । खाँडदेवी गाउँपालिका र नेपाल दुरसञ्चार प्राधिकरणबीच भएको सहमति अनुसार आगामी दुई बर्षसम्म गाउँपालिकाभित्र निशुल्क रुपमा इन्टरनेट सेवा प्रवाह हुनेछ । गाउँपालिकाले बिपी राजमार्गको सित्खाबाट गाउँपालिकाको केन्द्र माकादुमसम्म फाइबर इन्टरनेट जडान गरेको थियो । अहिले सम्झौता अनुसार पालिकाको नौ वटै वडा कार्यालयमा फाइबर इन्टरनेट पुगेको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले पालिकाभित्रका माध्यमिक विद्यालय र आधारभूत सबै विद्यालयमा फाइबर इन्टरनेट जडान गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘निर्वाचनमा गरेको प्रतिबद्धता गरेका छौ, प्रविधिको प्रयोग बढाएर मात्र समृद्ध खाँडादेवी बनाउन सकिन्छ ।’

इन्टरनेटको पहुँच पुगेसँगै सूचना र प्रविधिको बारेमा विद्यालय स्तरबाटै विद्यार्थीहरुले जानकारी लिने अवसर मिलेको बताउदै सबै घरघरमा इन्टरनेट पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको छ, उनले भने । गाउँपालिकाले पछिल्लो चरण गरेको तथ्याङक संकलन अनुसार गाउँपालिकाभित्र चालिस हजार जनसंख्या रहेको छ । विद्यालयमा इन्टरनेट जडान भएसँगै पठनपाठनमा सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्