मन्थली नगरपालिकाले ६ करोडमा बनाएको स्वीमिङ पुल नयाँ बर्षबाट सञ्चालनमा आउने



४ माघ, रामेछाप ।
मन्थली नगरपालिकाले निर्माण गरिरहेको स्वीमिङ पुल सहितको तीन लाल पार्क आगामी वैशाखबाट सञ्चालनमा आउने भएको छ । अत्याधिक गर्मी हुने मन्थलीमा नगरवासीको हितलाई केन्द्रमा राखेर मन्थली नगरपालिकाले निर्माण गरेको स्वीमिङ पुल सहितको पार्क नयाँ बर्षबाट सञ्चानलनमा आउने भएको हो ।

करिब वीस महिना अघिबाट सुरु भएको पार्कको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ भने बाँकी काम यही फागुनभित्र सम्पन्न हुने मन्थली नगरपालिकाका इन्जिनियर डिल्ली अधिकारीले रामेछाप न्युजलाई बताए ।

मन्थली नगरपालिकाको ४ करोड र संघीय सरकारको २ करोड ८८ लाख गरी ६ करोड ८८ लाख लगानीमा स्वीमिङ पुल, पाँच सय क्षमताको सभा हल, प्रशासनीय भवन लगायतका संचरना निर्माण गरिएको छ । १० करोडको प्राविधिक स्टामेट गरिए पनि ६ करोड ८८ लाखमा ठेक्का सम्झौता भएको थियो ।

पार्कभित्र तीन वटा स्वीमिङ पुल निर्माण गरिएको छ । महिला पुरुष र बालबालिका गरी तीन वटा स्वीमिङ पुलमा एकै पटक तीस जना भन्दा बढीले स्वीमिङ गर्न सक्ने इन्जिनियर अधिकारीले जानकारी दिए । तामाकोसी नदीसँग निर्माण भएको तीनलाल पार्कलाई हरियाली बनाइने योजना रहेको छ ।
हाटेचौरमा आधुनिक पार्क सहितको स्वीमिङ पुल र आधुनिक सभा हल निर्माण भएपछि आर्थिक गतिविधि बृद्धि हुने लक्ष्य नगरपालिकाले गरेको छ । करिब २ सय रोपनी क्षेत्रफलमा पार्क सहितको स्वीमिङ पुल निर्माण गरेपछि नगरवासी खुसी भएका छन् ।
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार वस्नेतले नगरपालिकाले गरेको मध्ये स्वीमिङ पुल सहितको पार्क नमूना आयोजना भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘योजना अगाडि सार्दा धेरै विरोध भएपनि अहिले पार्क निर्माण अन्तिम चरणमा पुगेको छ, यसले सदरमुकाम मन्थलीको आर्थिक गतिविधिलाई माथि उकास्न मद्दत पुग्छ ।’

निर्माण सम्पन्न भएपछि यस्तो हुनेछ पार्क (भिडियो)

प्रतिक्रिया दिनुहोस्