नेपालको नयाँ जनसंख्या सार्वजनिक,रामेछापको जनसंख्या बृद्धिदर सबै भन्दा कम



12 माघ, काठमाडौं ।

तथ्याङ्क विभागले आज १२औँ जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । २०७८ सालमा सम्पन्न गणनाको प्रारम्भिक तथ्याङ्क आज सार्वजनिक गरेको हो । सार्वजनिक भएको प्रारम्भिक तथ्यांकअनुसार हालको नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

भदौ ३० देखि असोज १८ र कात्तिक २५ देखि मङ्सिर ९ सम्म गरेर दुई चरणमा सम्पन्न भएको जनगणनाले अघिल्लो जनगणना २०६८ को तुलनामा २७ लाखले बढी हो । यस्तै, यो जनगणनाबाट नेपालको जनसङ्ख्या वृद्धिदरमा समेत गिरावट आएको पाइएको छ । पछिल्लो १० वर्षमा नेपालकोे सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ ले नेपालमा पुरुषकोभन्दा महिलाको सङ्ख्या बढिरहेको देखाएको छ । नेपालको हालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये महिलाको सङ्ख्या ५१ प्रतिशत छ ।

यो भनेको महिलाको कुल जनसङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ छ । यस्तै, कुल जनसङ्ख्याको ४८।९६ प्रतिशत हिस्सा ओगटेका पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।१० वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसङ्ख्यामा महिलाको सङ्ख्या ५१.५ र पुरुषको सङ्ख्या ४८.५ प्रतिशत नै थियो । यस हिसाबले यो १० वर्षमा महिलाको सङ्ख्या कुल जनसङ्ख्याको ५१ प्रतिशतभन्दा बढी रहेको छ । हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा जनसंख्या वृद्धिदर वार्षिक रुपमा घटिरहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

भागका अनुसार २०६८ को जनगणनामा २७ वटा जिल्लामा जन संख्या वृद्धिदर ऋणात्मक थियो । विभागका अनुसाार सबैभन्दा कम जन संख्या वृद्धि रामेछापमा देखिएको छ । रामेछाप जिल्लाको जन संख्या वृद्धिदर माइनस एक दशमलव ६५ प्रतिशत छ । त्यस्तै सबैभन्दा बढी जनसंख्या वृद्धिदर शहरी क्षेत्रमा भक्तपुरमा ३ दशमलब ३२ प्रतिशत छ भने हिमाली जिल्ला मुगुमा १ दशमबलव ८० प्रतिशत जनसंख्या वृद्धिदर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्