सत्ता गठबन्धन चुनाव लड्न डरायोः कैलाश ढुंगेल



१४ माघ, रामेछाप ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाश ढुंगेलले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । उनले निर्वाचन सार्ने खेल एमालेलाई स्वीकार्य नहुने बताउदै सत्ता गठबन्धनकाे जालझेलको विरुद्ध पार्टीले शसक्त रुपमा आवाज उठाउने बताएका हुन् । उनले एमालेसँग चुनाव लडन नसक्ने देखेर सत्ता गठबन्धन डराएको आरोप लगाउदै चुनावबाट भागेर जाने ठाउँ नभएको बताए ।
रामेछाप न्युजसँग कुराकानी गर्दै उनले भने,‘हामीले संविधान र कानुन बमोजिम वैशाखमा स्थानीय तहको चुनाव गर्नुपर्छ भनिरहेका छौ, लोकतन्त्र मान्छु भन्ने कांग्रेस नै चुनावबाट डराइरहेको छ ।’

स्थानीय तहको चुनाव सार्ने खेला अलोकतान्त्रिक र संघीयता विरोधी कदम भएको बताउदै ढुंगेलले चुनावी प्रतिस्पर्धाबाट भाग्न खोज्नु सत्ता गठबन्धनको हारको मानसिता भएको आरोप लगाए । प्रचण्ड र माधव कुमार नेपालको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति घोषणा गर्न डराइरहेको बताउदै उनले आवधिक निर्वाचन वैशाखमै हुनुपर्ने बताए ।

सत्ता गठबन्धनले कुण्डली हेरेर चुनावमा जान चाहेको छे, साइत हेरेर निर्वाचनको मिति घोषण गर्दैमा निर्वाचनमा जित्न सकिदैन, निर्वाचन जित्न जनताको मन जित्नु पर्छ, एमालेले जनताको मन जितेको छ, उनले भने ।
रामेछापको आठ वटै स्थानीय तहमा एमालेले चुनाव जित्ने दावी गर्दै ढुंगेलले भने,‘रामेछाप एमालेको लालकिल्ला हो, आगामी स्थानीय तहको निर्वाचनमा जितेर देखाउछौं ।’ आफूहरु स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेको बताउदै उनले एमालेले स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्