खाँडादेवी गाउँपालिकाले छुट्टै जनगणना गर्दै,वडा वडामा खटायाे गणक



२१ माघ, रामेछाप ।
केन्द्रीय तथ्याङक विभागले सार्वजनिक गरेको प्रारम्भिक जनगणनाप्रति असहमति जनाउदै खाँडादेवी गाउँपालिकाले छुट्टै जनगणना सुरु गरेको छ । गाउँपालिकाभित्रको वास्तविक जनसंख्याको तथ्याङक निकाल्न गाउँपालिको नौ वटै वडामा गणक खटाएको हो ।

दुई बर्ष अघि गाउँपालिकाले संकलन गरेको जनगणना अनुसार गाउँपालिकाको जनसंख्या ३३ रहेको थियो । सोही अनुरुप जनसंख्या बृद्धि हुने अनुमानसहित गाउँपालिकाले गत आर्थिक बर्ष नै प्रस्तावित खाँडादेवी नगरपालिका घोषणा गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पत्राचार गरेको थियो ।

तर हालै सार्वजनिक भएको जनसंख्यामा खाँडादेवी गाउँपालिकाको जनसंख्या १९ हजार मात्र रहेको तथ्याङक सार्वजनिक भएको थियो । अझ रोचक त के छ भने १९ हजार जनसंख्या रहेको खाँडादेवी गाउँपालिकामा मतदाताको संख्या भने २२ हजार बढी रहेको छ । गाउँपालिकाले यही फागुन १२ गतेभित्र सम्पन्न गर्ने गरी गाउँपालिकाको वास्तविक जनसंख्या निकाल्ने गरी तथ्याङक संकलनको काम अगाडि बढाएको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जनगणनाको तथ्याङकले आशंका उपब्जाएको बताए । उनले रामेछाप न्युजसँग भने,‘सार्वजनिक भएको जनगणनालाई मान्छौ, तर गाउँपालिकाको वास्तविक जनसंख्या कति हो भनेर अहिले पुनः जनगणनाको काम अगाडि बढाएका छौं ।’ करिब चालिस हजार जनसंख्या पुग्ने अनुमान गरेपनि आधा भन्दा बढी जनसंख्या घटनुले वास्तविक जनसंख्या छुटेको छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्