दोरम्बा प्राथमिक अस्पतालमा नयाँ प्रविधिको एक्सरे सेवा विस्तार (फाेटाेफिचर)



२८ माघ, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकाले पालिकाको एक मात्र दोरम्बा प्राथमिक अस्पतालमा थप सेवा विस्तार गरेको छ । यसअघि सञ्चालनमा रहेका एक्सरे मेसिनलाई विस्थापित गरेर डिजिटल एक्सरे मेसिन जडान गरेको हो । गाउँपालिकाले एक्सरे, ल्याब लगाएतको आधारभूत सेवा सुविधा अस्पतालबाटै उपलब्ध गराउने नीति अनुरुप पूर्वाधार निर्माणसँगै सेवा सुविधा विस्तारको कामलाई पनि निरन्तरता दिएको छ ।

गाउँपालिकाको करिब ४० लाख भन्दा बढी लगानीमा आधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन आजबाट सञ्चालनमा आएको छ । एक्सरे मेसिनको गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले उदघाटन गरेका छन् । एक्सरे मेसिनको उदघाटन गर्दै मोक्तानले दोरम्बा अस्पताललाई थप सेवा सुविधा थप गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिकाको पहलमा हाल डाक्टरसहितको सुविधा दोरम्बा प्राथमिक अस्पतालबाट प्रवाह हुँदै आएको छ । अस्पतालबाट ल्याब र भिडियो एक्सरेको सुविधा सुरु भएपछि सामान्य रोगको लागि पनि राजधानी काठमाडौं धाउनु पर्ने बाँध्यता हटेको छ ।
एक्सरे उदघाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङ, दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर घिसिङ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्