रामेछापमा एमाले गाउँ पस्यो, कांग्रेस माओवादी अलमलमा
५ फागुन, रामेछाप ।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले चुनाव केन्द्रीत कार्यक्रम बनाएर अगाडि बढेको छ । रामेछापमा पनि एमालेको जिल्ला कमिटीको बैठकले आठ वटै स्थानीय तह र ६४ वटै वडामा कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । सोही अनुसार एमालेले वडाको टोलटोलमा पुगेर चुनाव केन्द्रीत कार्यक्रम सञ्चालन गरिरहेको छ ।
स्थानीय निर्वाचनमा विगतकोझै यस पटक पनि जिल्लामा पहिलो पार्टी बन्ने योजनासहित एमालेले चुनाव केन्द्रीत कार्यक्रम बनाएर १३ हजार संगठित सदस्यलाई परिचालन गर्ने नीति बनाएको छ । एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले पार्टीले चुनाव केन्द्रीत कार्यक्रम बनार गाउँगाउँमा जाने अभियान सञ्चालन गर्न लागेको रामेछाप न्युजलाई बताए ।
एमालेले चुनावी कार्यक्रम बनाएर अभियान सञ्चालन गर्ने निर्णय गरेपनि रामेछापमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने अलमलमा देखिएका छन् । केन्द्रमा एमसीसीको विषयलाई लिएर विवाद हुँदा सत्ता गठबन्धनमा आबद्ध दलहरुले चुनाव केन्द्रीत कार्यक्रम सार्वजनिक गर्न सकिरहेका छैनन् । माओवादी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तानले पार्टी केन्द्रको निर्णय अनुसार मात्र पार्टीले चुनावी कार्यक्रम सार्वजनिक गर्ने बताउन ।