रामेछाप कांग्रेसमा विवादः सभापति तामाङकाे चर्काे आलोचना



१६ फागनु, रामेछाप ।
नेपाली कांग्रेस रामेछापभित्र विवाद सुरु भएको छ । सभापति पूर्ण बहादुर तामाङ कान्छाराम र सचिव दिपक खड्काबीचको विवादले कार्यसमिति नै विभाजित भएको छ । आज बसेको बैठकमा सचिव खड्काले सभापति तामाङको कार्यशैलीको विषयलाई लिएर प्रश्न उठाएका थिए । उनले पदाधिकारीले एजेण्डा तय भएपनि आफूलाई उक्त प्रक्रियामा सहभागी नगराएको, आफूलाई जानकारी नै नदिइ एजेण्डा बनाएको विषय उठाएका थिए । विवाद चर्किदै गएपछि सचिव खड्काको नेतृत्वमा बैठकमा सहभागी १९ जना कार्यसमितिका सदस्यहरु बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

सचिव खड्काले रामेछाप न्युजसँग भने,‘हामीले पार्टीलाई विधि र पद्दतीमा अगाडि लैजान बारम्बार कुरा उठाउदा पनि सभापतिले एकलौटी रुपमा निर्णय लिदै आउनुभएको छ ।’ सभापतिले आगामी निर्वाचनमा दिइने टिकट बाटो र चिया पसलमा बाडन थालेको आरोप लगाउदै उनले पार्टीको आधिकारीक ठाउँबाट मात्र निर्णय हुनुपर्नेमा आफूले माग राखेको बताए ।

‘सभापतिले मलाई ठाउँठाउँमा कि मलाई पछि लाग्ने बनाउनु, कि राजिनामा दिन बाँध्य बनाउछु भन्दै बोल्दै हिडनु भएको छ’, उनले भने,‘विधि र पद्दतीको कुरा उठाएको छौ, पार्टी विधिमा नचल्दासम्म असहमति कायमै रहिरहन्छ ।’ उनले सभापति तामाङले पार्टीको बैठक चलिरहदा पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई होच्याएर बोल्ने तुच्छ शब्दहरु प्रयोग गर्ने गरेको बताउदै पार्टीभित्र सबैलाई समान व्यवहार गर्न पनि आग्रह गरेको बताए ।
जिल्ला अधिवेशनबाट ३९ सदस्यी कार्यसमिति निर्वाचित भएपनि हाल मनोनित गरी कांग्रेसको जिल्ला कार्यसमितिमा ४६ जना सदस्य रहेका छन् ।तर सभापति तामाङ निकट एक पदाधिकारीले भने सभापतिलाई काम गर्न धेराबन्दी सुरु गरेको बताए । उनले भने,‘साथीहरुले विरोध गर्न सुरु गर्नुभएको छ, उठाउनुभएको कतिपय कुरा स्वभाविक छैन ।’

प्रतिक्रिया दिनुहोस्