महिला दिवसः प्रेरणदायी रामेछापकी श्रेष्ठसहित १४ जना सम्मानित



२४ फागुन, काठमाडौं ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलाहरुलाई सम्मान गरेको छ । क्लबको वार्षिक कार्यक्रम येलो रोज डे को अवसरमा विभिन्न क्षेत्रमा उदाहरणीय काम गरेका १४ जना महिलाहरुलाई सम्मान गरेको हो ।
कार्यकममा पुरस्कृत महिलाहरुले आफ्नो संघर्ष र सफलताको कथाहरु सुनाएका थिए । आयोजक जोन्टा क्बलले महिला सशक्तिकरणका वास्तविक पात्रहरुलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई पनि आ–आफ्नो क्षत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने बताएको छ ।
प्रिन्सेस हेलेन शाह इनस्पीरेशनल वुमन अफ द इयर सम्मानबाट प्रस्तुति भट्टराई र बर्षा तामाङ, अमर राना गेम चेन्जर अवार्डबाट क्याप्टेन प्रिया अधिकारी, कोभिड हिरोहरुका लागि रत्न देवी अवार्डबाट सुस्वप्न रिमाल, ज्योती स्कलरशिप अवार्डबाट वुमन इन बिजनेस स्कलरशिप वर्षा कटुवाल, वुमन इन टेक स्कलर शिप सुक्रिती मास्के, इन्द्रकला स्कलरशिप अवार्ड योङ वुमन इन पब्लिक अफेयर्स मन्दिरा श्रेष्ठ, वुमन इन स्पेस मनिषा दावालाई प्रदान गरिएको जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले जानकारी दिनुभयो ।
प्रेरणादायी मन्दिरा श्रेष्ठ खाँडादेवी गाउँपालिका–३ भिरपानी निवासी हुन् । उनले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी छिन् ।

समान अवसर भएको समृद्ध समाज निर्माणमा लागेका महिलाहरुलाई सम्मान गर्दै जोन्टा क्लब अफ काठमाडौँले नारी दिवस मनाउँदै आइरहेको छ । गाल्छाले भन्नुभयो,‘एउटा त्यस्तो समाज जहाँँ महिलाहरुले आफ्नो क्षमताको प्रमाण दिइरहनु पर्दैन । एउटा त्यस्तो समाज जहाँँ उनीहरुको कामको इज्जत हुन्छ र उनीहरुको उपलब्धिलाई सम्मान गरिन्छ । महिलाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नु अपवाद हैन सामान्य चलनको रुपमा लिइनुपर्छ ।”
त्यस्तै अनसंग हिरोज विधा अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पु¥याएका अन्य ४ जना महिलाहरुलाई पनि उनीहरुको असाधारण कार्यको प्रशंसा गर्दै जोन्टा क्लब अफ काठमाडौंले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५ हजार रुपैयाँ प्रदान गरेको छ ।
क्बलका अनुसार साझा यातायातको टिकट कलेक्टर रेजिना बस्नेत, रोरङ गाउँपालिका–१० बाट पहिलो महिला नर्स सरिता चेपाङ विगत १० वर्षदेखि ट्याक्सी चलाउँदै आउनुभएकी ट्याक्सी ड्राइभर इश्वरी थापा, झ्याल ढोका बनाउने काम गर्दै आएकी मनु थामीलाई पनि सम्मान गरिएको छ ।
परम्परागत रुपमा पुरुष प्रधान मानिएका क्षेत्रहरुमा यी महिलाहरुले आफ्नो अब्बल उपस्थिति जनाएका छन् । कठिनाई र चुनौतीको वावजुद पनि आ–आफ्नो विधामा उत्कृष्ट काम गर्न सफल यस्ता महिलाहरुलाई सम्मान गर्न पाउनु आफैँमा एउटा गौरवको विषय भएको आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।
उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्