रामेछापको स्थानीय चुनावमा पहिलो बन्ने दौडधुपमा एमाले, बचाउला त विरासत ?



२९ फागुन, रामेछाप ।
नेकपा एमालेले गत स्थानीय तहको निर्वाचनमा रामेछापको आठ वटा स्थानीय तह मध्ये पाँच स्थानमा जित हासिल गरेको थियो । जिल्लाको आठ तहमा रहेको ६४ वडा मध्ये २८ वटा वडाको अध्यक्षमा निर्वाचित भएको थियो । गत स्थानीय तहको निर्वाचनमा एमाले मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका,गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका प्रमुख÷उपप्रमुख जितेको थियो भने उमाकुण्ड गाउँपालिकामा अध्यक्ष जितेको थियो । उमाुकण्ड गाउँपालिकाको उपाध्यक्ष भने कांग्रसले जितेको थियो ।
सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख उपप्रमुख जितेको थियो भने रामेछाप नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख उपप्रमुख जितेको थियो ।

अहिले एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेसँगै एमालेको लागि थप चुनौती भएको छ । विभाजित अवस्थामा एमाले यस पटक चुनावी अभियानमा जुटेको छ । स्थानीय तह र वडा अध्यक्षमा जितन लािग थोरै मत पनि महत्वपूर्ण हुनेछ ।
एमालेबाट नगर प्रमुख बनेका मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादीको तर्फबाट बस्नेत नै पुनः नगरप्रमुखमा दोहोरिने सम्भवना रहेको छ । उनले उम्मेदवारी दिएको अवस्थामा एमालेको केही मत काटिनेछ । त्यसैगरी लिखु तामाकोसी गाउँपालिकामा एमालेको तर्फबाट चुनाव जितेका गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई तत्कालित नेकपा हुँदा गरिएको कारवाही अहिले पनि एमालेले फिर्ता लिएको घोषणा गरेको छैन् । लिखु तामाकोसी गाउँपालिकाभित्र एमालेकै जनप्रतिनिधिबीचको विवादको कारण यो कार्यकालमा कुनै पनि ठोस योजना र कार्यक्रम बन्न सकेन । गाउँपालिकामा आएको बजेट समेत कार्यान्वयन नहुने अवस्था सृजना गर्यो ।

एमालेले आगामी चुनावमा पनि पहिलो बन्नको लागि चुनावी अभियान आठ वटै स्थानीय तहको ६४ वटै वडामा सञ्चालन गरिरहेको छ । प्रचार विभाग प्रमुख एवं एमाले रामेछापका उपसचिव प्रकाश कुमार कार्कीले चुनाव जित्नको कठिन अवस्था नरहेको बताउछन । उनले भने,‘विगतको भन्दा हाम्रो अवस्थामा झन सुधार भएको छ, यस पटक विगतको राम्रो परिणाम ल्याउने गरी मेहनत गरिरहेका छौं ।’
एमालेले विगतको विरासत धान्नको लागि पाँच वटा स्थानीय तहको साथै २८ वटा वडामा जित हासिल गर्नुपर्नेछ । उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र खाँडादेवी गाउँपालिकामा बलियो संगठन रहेको दावी गरेको एमालेका लागि मन्थली नगरपालिका, रामेछाप नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकामा चुनाव जित्ने भने चुनौतीपूर्ण रहेको छ । रामेछापमा एमालेका १३ हजार भन्दा बढी संगठित सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्