रामेछापमा घरभित्र पसेको निहुँमा १३ बर्षिय बालिकालाई २१ घण्टा बाँधेर यातना दिने श्रेष्ठ पक्राउ



१ चैत्र, रामेछाप ।
रामेछापमा एक दलित बालिका घरभित्र पसेको निहुँमा २१ घण्टा डोरीले बाँधेर यातना दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मन्थली नगरपालिका – ६ भलुवाजोरमा १३ बर्षिय बालिका सरिता नेपालीलाई घरभित्र पसेको निहुँमा घरधनी सोी ठाउँका शेरबहादुर श्रेष्ठले २१ घण्टा सम्म डोरीले बाँधेर यातना दिएर राखेको अवस्थाबाट प्रहरीले बालिकाको उद्धार गरेको हो ।

प्रहरीले बालिकालाई बाँधेर राख्ने श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले अमानविय ढंगले बालिकालाई बाधेर राख्ने घरधनी श्रेष्ठलाई पक्राउ गरिएको बताए । उनका अनुसार सोमबार दिउसोदेखि मंगलबार मध्यान्न १२ बजे सम्म श्रेष्ठले सानो जातको मान्छे घरभित्र पसेर दही खाएको र घर अछुतो भएको भन्दै पीडितका परिवाले रुद्री लगाएर घर चोख्याउन खर्च नदिए सम्म नछोड्ने बताएपछि बालिकालाई बाँधेर राखिएको घटनाको बारेमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

पीडित बालिकाले आफूलाई घरभित्रबाट निकालेर घरको दलिनमा डोरीले बाँधेर सिस्नु लगाउँदै लौरोले कुटेको बताएकी छिन् । उनले महिनावरी भएको कारण डोरीले बाधिएको अवस्थामा रात कटाउन निकै मुस्किल भएको प्रहरी समक्ष बताएकी छिन् ।
डिएसपी थिङले बालिकालाई उद्धार गरेर ल्याइएको र पीडक शेर बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धन प्रक्रिया सुरु गरिएको बताउदै पीडकलाई कानुन अनुसार कारवाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्