प्रधानमन्त्री देउवा चैत्र ५ गते रामेछाप आउने



२ चैत्र, रामेछाप ।
प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र ५ गते रामेछाप आउने भएका छन् । निर्माण पूरा भएको २२० १३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री देउवा रामेछाप आउने भएका हुन् । ४५६ मेगावाटको माथिल्लो तामाकोसी तथा निजी क्षेत्रले निर्माण गरेका विभिन्न जलविद्युत आयोजनाको विद्युत जोडिएर अन्य क्षेत्रमा प्रवाह हुने यो महत्त्वपूर्ण सबस्टेसन गत साउनदेखि नै सञ्चालनमा आएको थियो ।

तामाकोसीको १०० मेगावाट बिजुली यही सबस्टेसनमा जोडिएर काठमाडौंतर्फ प्रवाह भइरहेको छ । बाँकी बिजुली त्यहाँबाट ढल्केबर सबस्टेसनमा जोडिई पूर्व–पश्चिम वितरण भइरहेको छ । निर्माण पूरा भई सञ्चालनमा आएका मध्ये खिम्ती दोस्रो ठूलो सबस्टेसन हो । यसअघि ढल्केबरमा निर्माण भएको देशकै पहिलो ठूलो ढल्केबर सबस्टेसन गत वर्षबाट सञ्चालनमा आएको थियो । नयाँ खिम्ती सबस्टेसनमा निजी क्षेत्रद्वारा निर्मित ५२.४ मेगावाटको लिखु–४ र २४.२ मेगावाटको लिखु ‘ए’को बिजुली पनि जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्