रामेछापमा बन्यो देशकै ठूलो न्यू खिम्ती सबस्टेशन



४ चैत, काठमाडौं ।
रामेछाप जिल्लामा देशकै ठूलो सबस्टेशन सञ्चालनमा आएको छ । देशकै ठूलो न्यू खिम्ती सबस्टेसन निर्माण भएसँगै सञ्चालनमा आएको हो ।रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको न्यू खिम्ती सबस्टेशनको भोली प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेशनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ । सोही सबस्टेशन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौँ जोडिएको छ । सबस्टेशनमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।

सो सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ ।न्यू खिम्ती सबस्टेशनका आयोजना प्रमुख विज्ञान श्रेष्ठले नयाँखिम्ती सबस्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली जोडिएको बताए । उनका अनुसार ५२.४ मेगावाट क्षमताको लिखु दोस्रो र २४.१ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ । सबस्टशेनमा कूल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने क्षमता रहेको श्रेष्ठले बताए । गत साउनको अन्तिम साता सो सबस्टेशन चार्ज गरिएको थियो ।सबस्टेशनमा चारवटा पावर ट्रान्सफर्मर जडान भएका छन् । जडान भएका ट्रान्सफर्मरमध्ये तीनवटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहनेछ ।

देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन निर्माणपछि सञ्चालनमा आइसकेको छ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले न्यू खिम्ती सबस्टेशनलाई प्राधिकरणले हबको रुपमा विकास गर्ने लक्ष्य लिएको रामेछाप न्युजलाइ बताए । उनका अनुसार रामेछाप, दोलखालगायतका जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिनेछ ।सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्