रामेछापमा माओवादीले आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउँछः इन्चार्ज श्रेष्ठ



५ चैत, रामेछाप ।
नेकपा माओवादीका केन्द्रीय सदस्य एवं रामेछापका जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले राम्रो परिणाम ल्याउने दावी गरेका छन् । उनले जिल्लामा पार्टीको उपस्थिति बलियो रहेकाले निर्वाचन कुनै पनि हालतमा जित्ने गरी अभियान चलाउने बताएका हुन् ।
नेकपा माओवादी केन्द्र रामेछाप नगर संगठन कमिटीद्धारा शनिवार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले विगतको निर्वाचनमा भन्दा आगामी स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउने दावी गरे । उनले भने,‘चुनाव हार्ने छुट हामीलाई छैन, कुनै पनि हातलमा निर्वाचन जित्ने गरी सबै लाग्नु पर्छ ।’
कार्यक्रममा रामेछाप नगर कमिटीका संयोजक शिशिर खड्कीले विगतको भन्दा नगरपालिकामा सांगठानिक रुपमा राम्रो उपस्थिति रहेको बताए ।
उक्त कार्यक्रममा माओवादी रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल तामाङले रामेछाप नगरपालिकामा यस पटक आफ्नो पार्टीले जित्ने गरी अभियान सञ्चालन गरिरहेको बताए । विगतको भन्दा पार्टी संगठन बलियो बनेको बताउदै उनले एक्लै चुनाव लडेर जित्ने आधार तयार गरिएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्