उम्मेदवार बन्न राजिनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



९ चैत, काठमाडौं ।

सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्धको मुद्दामा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले आचारसंहिताको प्राबधान कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश गरेको हो।

आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सोमबार रिट दर्ता गराएका थिए। आयोगले तयार पारेको आचारसंहितामा पुनः उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने प्रावधान राखिएको थियो ।

निवेदनमा जनप्रतिनिधिले चुनावअगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने भएकाले सो प्रावधान हटाउन अन्तरिम आदेश माग गरिएको छ। रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निवेदकले अन्तरिम आदेश जारी गरि पाउँ भनि माग गरेको सम्बन्धमा विचार गर्दा दुबै पक्षको छलफलपश्चात निर्णयमा पुग्दा मनासिब हुने देखिएकाले मिति चैत १३ मा अन्तरिम आदेश छलफलको पेसी तोकी सो छलफलमा उपस्थित हुनु भनी विपक्षीलाई सूचना दिन आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्