रामेछापको ६ स्थानीय तह र ४० वटा वडा जित्ने कान्छारामको दावी



९ चैत, रामेछाप ।
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको अभियान अन्तर्गत ‘घर घर जाऔं’ अभियान अघि बढाएको छ । अभियान मार्फत घरघरमै पुगेर कार्यकर्ता र जनताको चाहना बुझेर चुनावी रणनीति बनाउने तयारीमा जुटेको छ । गत निर्वाचनमा जिल्लाको आठ वटा स्थानीय तह मध्ये कांग्रेसले रामेछाप नगरपालिका प्रमुख/उपप्रमुख र उमाकुण्ड गाउँपालिकामा उपाध्यक्षसहित जिल्लाको ६४ मध्ये १३ वटा वडाअध्यक्ष जितेको थियो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निवार्चनमा भने कांग्रेसले छ वटा स्थानीय तहको साथै चालिस भन्दा बढी स्थानीय तह जित्ने दावी गरेको छ ।नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लामा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी अभियान सञ्चालन गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘कांग्रेसले ६ वटा स्थानीय तह सहज जित्छ, चालिस भन्दा बढी वडामा जित्नेमा कुनै शंका नै छैन् ।’

उनका अनुसार मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका र सुनापति गाउँपालिका कांग्रेसले जित्छ । बाँकी रहेको दोरम्बा शैलुङ गाउँपालिका र खाँडादेवी गाउँपालिकामा पनि जित्ने गरी अभियान चलाउने तामाङले बताए ।

गत निर्वाचनमा १३ वटा वडामा निर्वाचित भएको कांग्रेसले आगामी निर्वाचनमा दुई गुणा बढी वडा जित्ने लक्ष्य लिएको छ । जिल्लाको आठ वटा स्थानीय तहमा गरी कांग्रेसको १३ हजार भन्दा बढी क्रियाशिल सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्