रामेछापमा चुनावी गठबन्धनः जितेको ठाउँमा आ–आफ्नो दावी, एमालेले जितेकोमा ठाउँमा भागवण्डा हुने



२० चैत, रामेछाप ।
सत्ता गठबन्धनमा आबद्ध तीन दलबीच रामेछापमा पनि चुनावी तालमेल हुने पक्का भएको छ । केन्द्रमा सत्ता गठबन्धमा आबद्ध दलबीच भएको समझदारी अनुरुप रामेछापको आठ वटा स्थानीय तहमा पनि प्रमुखदेखि वडा सदस्यसम्मै चुनावी तालमेल हुने भएको छ । रामेछापमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकोबीचमा तालमेल हुने भएको छ ।

औपचारिक रुपमा तीन दलबीच गठबन्धनमा छलफल हुनुपूर्व तीन दलबीच आ–आफ्नो दलमा आन्तरिक गृहकार्य सुरु भएको छ । तीन दलबीच अहिले चुनाव जितको स्थानीय तहमा ती दलले दावी गर्ने र एमालेले जितेको स्थानीय तहमा भाडवण्डा गरेर तालमेल गर्ने गृहकार्य सुरु भएको छ ।
गत निर्वाचनमा माओवादीले सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकामा जित हासिल गरेको थियो । कांग्रेसले रामेछाप नगरपालिकामा नगर प्रमुख/उपप्रमुख र उमाकुण्ड गाउँपालिकामा उपाध्यक्षमा जितेको थियो । बाँकी पाँच वटा स्थानीय तहमा भने एमालेले जितेको थियो ।

रामेछापमा रहेका ६४ वडा मध्ये गत निर्वाचनमा कांग्रेसले १३ र माओवादी केन्द्रले २१, एमालेले २८ र राप्रपाले १ वटा वडामा जित हासिल गरेको थियो ।जित हासिल गरेको स्थानीय तह र वडामा जितेका दलले दावी गर्ने र हारेको ठाउँमा तालमेल गरेर अगाडि बढनु पर्ने माओवादी र समाजवादी प्रस्ताव अघि सारेका छन् ।

तर कांग्रेसले भने ६ वटा स्थानीय तहमा दावी गर्ने नीति लिएको छ । सत्ता गठबन्धनबीच खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा तालमेल हुने पक्का पक्की भएको छ । रामेछाप नगरपालिकामा काग्रेस, दोरम्बा र सुनापति गाउँपालिकामा माओवादी र मन्थली नगरपालिकामा एकीकत समाजवादीले दावी गर्ने भएको छ । गत निर्वाचनमा एमालेबाट निर्वाचित भएका नगरप्रमुख रमेश बस्नेत एकीकृत समाजवादीमा प्रवेश गरेसँगै उक्त नगरपालिकामा समाजवादीले दावी गरेको छ ।

माओवादी रामेछापका संयोजक मैन कुमार मोक्तानले केही दिनभित्र नै सत्ता गठबन्धनको बैठक बसेर चुनावी तालमेलको विषयमा छलफल हुने रामेछाप न्युजलाई बताए । उनका अनुसार अब बस्ने गठबन्धनको बैठकले कहाँ कसले के पाउने भन्ने विषयमा मोटामोटी खाका प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्