रामेछापमा सत्ता गठबन्धनमा विवादः कांग्रेसको एक सुत्रिय शर्तले गठबन्धनमा खैलाबैला



२३ चैत, रामेछाप ।
केन्द्रमा सत्ता गठबन्धनबीच चुनावी गठबन्धन गर्ने सहमति बनेपनि रामेछाप जिल्लामा सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठक बस्न सकेको छैन् । चुनावी तालमेलको लागि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलका लागि कार्यदल गठन गरेपनि कांग्रेसले कार्यदलको बारेमा निर्णय लिएको छैन् ।

कांग्रेसले चुनावमा तालमेल गरेर अघि बढन माओवादीसँग एक सुत्रिय शर्त अघि सारेको छ । केही समयअघि मन्थली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा कांग्रेस र माओवादीबीच भएको लिखित सहमति उल्लंघन गरेको भन्दै कांग्रेस शंसकित बनेको छ । कांग्रेसले माओवादीबाट विव्यसका अध्यक्ष बनेका व्यक्तिले तत्काल राजिनामा दिएर विश्वासको वातावरण निर्माण गर्नुपर्ने शर्त अघि सारेपछि सत्ता गठबन्धनको बैठक नै प्रभावित बन्न पुगेको छ ।

नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले पूर्व सहमति अनुसार कांग्रेसले मन्थली माविको अध्यक्ष पाउनु पर्ने समझदारी माओवादीले तोडेको कारण विश्वासको संकट पैदा भएको बताए । अब कसरी अघि बढनु हुन्छ त ? भन्ने रामेछाप न्युजको जिज्ञासामा उनले भने,‘माओवादीबाट विद्यालयको विव्यसको अध्यक्ष बनेका व्यक्तिले राजिनामा दिनुपर्छ, राजिनामा नदिएसम्म चुनावी तालमेलको प्रक्रिया अघि बढन सक्दैन ।’

रामेछापमा माओवादीले सुनापति र दोरम्बा शैलुङ गाउँपालिकाको प्रमुख अधिकाशं वडामा आफ्नो दावी प्रस्तुत गरेको छ भने मन्थली नगरपालिकामा समाजवादीले नगर प्रमुखमा दावी कायमै राखेको छ । रामेछाप नगरपालिकामा कांग्रेसले जितेकाले आगामी चुनावमा पनि दावी गरेको छ । बाँकी रहेका खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा भने सत्ता गठबन्धनमा भागवण्डा हुने बताइएको छ । सुनापति र दोरम्बा बाहेक अन्य स्थानीय तहमा भने कांग्रेसले आफ्नो दावी प्रस्तुत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्