रामेछापमा सत्ता गठबन्धनको बैठक भोली बस्ने, कुन स्थानीय तहमा कसको दावी ?



२८ चैत, रामेछाप ।
रामेछापमा सत्ता गठबन्धनको बैठक भोली बिहान बस्ने भएको छ । कांग्रेस रामेछापको आज जिल्ला कार्यसमितिको बैठकले गठबन्धन गर्ने निर्णय गरेसँगै भोली सत्ता गठबन्धनको बैठक बस्ने भएको हो । कांग्रेसले निर्णय नगर्दा सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । रामेछाप कांग्रेसका सभापति पूर्णबहादुर तामाङले भोलीबाट सत्ता गठबन्धनको औपचारिक बैठक बसेर संवाद अघि बढाउने रामेछाप न्युजलाई बताए । उनका अनुसार सत्ता गठबन्धनभित्र रहेका दलहरुसँग औपचारिक बैठक बसेर चुनावी तालमेलको विषयमा छलफल हुनेछ ।
सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्रले जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठ र जिल्ला संयोजक मैन कुमार मोक्तान रहेको वार्ता टोली गठन गरेको छ । नेकपा एकीकृत समाजवादीले जिल्ला इन्चार्ज देवशकंर पौडेलको नेतृत्वमा कार्यदल बनाएको छ ।

रामेछापमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएको छ । चुनावी तालमेल गर्दा जिल्लाको ८ वटा स्थानीय तह र ६४ वडामा कहाँ कसले लिने भन्ने विषयमा सत्ता गठबन्धनले निर्णय लिनेछ । रामेछापमा सुनापति, दोरम्बा शैलुङ गाउँपालिका माओवादीले दावी गरेको छ । त्यसैगरी रामेछाप नगरपालिकामा कांग्रेसले दावी गर्दा मन्थली नगरपाकिलामा एकीकृत समाजवादीले दावी गर्दै आएको छ । बाँकी एमालेले जितेको पाँच वटा स्थानीय तहमा भने गठबन्धनभित्र सिट बाँडफाँड गरेर चुनावमा जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्