रामेछापमा गठबन्धनको विरुद्ध एमाले एक्लै लडन सक्षम छः इन्चार्ज ढुंगेल



२८ चैत, रामेछाप ।
नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलले सत्ता गठबन्धनको विरुद्ध आफ्नो पार्टी एक्लै चुनाव लडेर जित्न सक्षम रहेको बताएका छन् । उनले रामेछापमा विगतमा पनि पहिलो पार्टी बनेको र आगामी चुनावबाट पनि पहिलो हुनबाट गठबन्धनले रोक्न नसक्ने बताएका हुन् ।
रामेछाप न्युजसँग कुराकानी गर्दै इन्चार्ज ढुंगेलले भने,‘एक्लै चुनाव लडने क्षमता नभएपछि गठबन्धन बनेको छ, गठबन्धन एकातिर र एमाले एकातिर राखेर जोख्दा रामेछापमा एमाले नै बलियो छ ।’विगतको भन्दा रामेछापमा पार्टीको उपस्थिति निकै बलियो रहेको दावी गर्दै उनले आफ्नो पार्टीको नेतृत्वको सरकारले रामेछापमा गरेको विकास निर्माणको एजेण्डा लिएर जनताको बीचमा जाने बताए ।

ढुंगेलले भने,‘विगतमा पनि रामेछापमा पाँच वटा स्थानीय तह एमालेले जितेको हो, अबको चुनावमा राम्रो परिणाम ल्याएर देखाउँछौं ।’ उनले कांग्रेस माओवादी रामेछापमा कमजोर भएकाले गठबन्धन गरेर एमालेसँग प्रतिस्पर्धा गर्न खोजे पनि असफल बनाउने बताए ।आज मात्र सत्ता गठबन्धनको पहिलो बैठक बस्दै आठ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्