रामेछापमा कांग्रेसको शर्तले  सत्ता गठबन्धनको बैठक अनिश्चित



१ वैशाख, रामेछाप ।
रामेछापको आठ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनबीच सहमति भएको छ । तर रामेछापमा चुनावी तालमेल गर्न कांग्रेसले एक सुत्रिय माग अघि सारेपछि भने सत्ता गठबन्धनको दोस्रो बैठक अनिश्चित बनेको छ । चैत २९ गते पहिलो पटक रामेछापमा सत्ता गठबन्धनको बैठक बसेर चुनावी तालमेललाई तीब्रता दिने निर्णय गरेको थियो ।

पहिलो बैठकमै कांग्रेसका सभापति पूर्णबहादुर तामाङ कान्छारामसहितका पदाधिकारीले मन्थली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषयमा प्रश्न उठाएको थियो । कांग्रेसले पूर्वसहित अनुसार कांग्रेसले पाउने पर्ने विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा माओवादीले सहमति विपरीत काम गरेकोप्रति आपत्ति जनाउदै उक्त निर्णय फिर्ता लिन माग गरेको थियो ।

तर माओवादीले उक्त विषयमा अल्झिनु भन्दा चुनावी मुद्दामा केन्द्रीत भएर अघि बढन प्रस्ताव गरेको थियो । अहिले कांग्रेसले माओवाादीकाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका व्यक्तिले राजिनामा दिएर विश्वासको वातावरण बनाउन माग गर्दै आएको छ । कांग्रेस रामेछापका सभापति तामाङले सहमतिको वातावरण निर्माण गर्न पनि पूर्व सहमति कार्यान्वयन हुनुपर्ने आफूहरुको अडान रहेको रामेछाप न्युजलाई बताए ।

निर्वाचनमा केन्द्रीत हुनु पर्ने बेला विगतमा भएका सामान्य कमजोरीलाई ल्याएर कांग्रेसले प्रतिष्ठाको विषय बनाउन नहुने माओवादीले बताएको छ । माओवादी रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठले रामेछापमा सिंगो राजनीतिक घटनाक्रमको विश्लेषण गरेर चुनावी तालमेल गर्नुपर्ने बेला प्राविधिक विषयमा कांग्रेस अल्झिन नहुने बताए । कांग्रेसको शर्तको कारण नियमित रुपमा बस्नु पर्ने सत्ता गठबन्धनको बैठक अनिश्चित बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्